भाजपाले फेरि गोर्खाहरूलाई धोका दिएको छ : विनय

0
1395
गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङ (फाइल फोटो)।

दार्जीलिङ, 16 जुलाई : भारतीय जनता पार्टीले पुनः एकपटक गोर्खा जातिलाई धोका दिएको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले आरोप लगाएका छन्। मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गरी विनयले यस्तो आरोप लगाएका हुन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘यसचोटि पनि गोर्खाका 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिइनुपर्ने तथा पहाड़मा केन्द्रिय विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव केन्द्र सरकारले नल्याएर हामीलाई निराश बनाएको छ। हामीले भाजपामाथि जुन भरोसा राख्दैआएका छौं, त्यसलाई यो पार्टीले पटक पटक तोड़ेर हामीलाई संवैधानिक अधिकार र शिक्षाजस्तो आधारभूत अधिकारबाट पनि वञ्चित राख्ने काम गरेको छ। हामीलाई बुनियादी विकासदेखि वञ्चित राखेर नै राजनीति गर्न सकिन्छ भन्ने भाजपाको चाल फेरि उजागर भएको छ।’

भावना र आवेगको राजनीतिमा होमेरै भाजपाले पहाड़लाई निरन्तर बुनियादी आवश्यकताबाट वञ्चित राख्ने काम गर्दैआएको आरोप तामाङको छ। यसैले पहाड़का बुनियादी समस्याहरू समाधान गर्ने आफूहरूको पहल प्रभावित हुँदै आएको उनको भनाइ छ।

‘भाजपा प्रमुख रहेको केन्द्र सरकार गोर्खाहरूको संवैधानिक सुरक्षा पहाड़को बुनियादी विकासप्रति कहिल्यै गम्भीर देखिएन। पटकपटक पहाड़लाई भोट ब्याङ्कको रूपमा प्रयोग गर्दैआएको छ। यो पार्टीमाथि जतिपटक विश्वास गरेको छ, उतिपटक नै यसले पहाड़प्रति वञ्चना र उपेक्षापूर्ण व्यवहार देखाउँदै आएको छ’, विज्ञप्तिमा तामाङले भनेका छन्, ‘जनजातिको मान्यता र केन्द्रिय विश्वविद्यालय स्थापनाको मागप्रति गम्भीरता नदेखाउनु यसै वञ्चना र उपेक्षापूर्ण नीतिको नमुना हो। तीन-तीनचोटि सांसद् र विधायकसमेत दिइसक्दा पनि पहाड़प्रति भाजपाले यस प्रकारको व्यवहार देखाउनु दुर्भाग्यपूर्ण कुरा हो। भाजपाको यस प्रकारको वञ्चना र उपेक्षापूर्ण व्यवहारको गोजमुमो घोर विरोध जनाउँदछ।’

भाजपाले शुरुदेखि नै गोर्खाहरूप्रति देखाउँदै आएको सहानुभूति र समवेदना राजनीतिक स्वार्थ पूरा गर्ने ढोङ्ग मात्र रहेको कुरा यो पार्टीको नीतिले उजागर भइसकेको गोजमुमो दोस्रो खेमाका अध्यक्ष तामाङको दाबी छ।

उनका अनुसार गोर्खालाई अधिकार दिलाउने कुरामा भाजपा सदैव उदासीन रहेको छ। यदि यो पार्टी र केन्द्र सरकार गोर्खाहरूप्रति साँच्चै इमानदार रहेको भए 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिन सक्ने थियो। तर, यसबारे अहिलेसम्म भाजपाले कुनै पहल नगरेको सांसद विष्टलाई आदिवासी कल्याण मन्त्रालय भारत सरकारले दिएको प्रत्युत्तरबाट स्पष्ट भएको छ।

‘सरकारको मानव संसाधन मन्त्रालयबाट उनै (विष्ट)-लाई दिइएको जवाबले केन्द्रिय विश्वविद्यालय स्थापनाबारे पनि भाजपा कति गम्भीर रहेछ, प्रष्ट भएको छ’, विनयले भनेका छन्,  ‘लामो समयसम्म यसरी भाजपाको उपेक्षा र वञ्चनापूर्ण नीति पहाड़मा हाबी रहे गोर्खाहरूको अस्तित्व मात्र खतरामा पर्नेछैन, तर, पहाड़ बुनियादी विकासबाट पनि वञ्चित रहनपर्नेछ ।हामी भाजपाको भोट ब्याङ्क मात्र होइनौं, यो पार्टीले हाम्रो अधिकार पनि सुनिश्चित गर्नुपर्छ।’

तामाङले दार्जीलिङ क्षेत्रबाट चुनाउ जितेका सांसद राजु विष्टले यहाँको शैक्षिक विकासका लागि पहल नगर्नु अझ दुर्भाग्यपूर्ण कुरा रहेको बताएका छन्। ‘उनले (विष्टले) भनेको राजनीतिक समाधान, जाति र माटोको सुरक्षा के हो? स्पष्ट पारून्’, विनयले भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here