केन्द्रिय योजनामा व्यापक भ्रष्टाचार भइरहेको भाजपाको आरोप

0
1023
खण्ड विकास कार्यालयमा ज्ञापन सुम्पिन पुगेका भाजपा कार्यकर्ताहरू।

कालेबुङ, 18 जुलाई : पहाड़को विकासका लागि केन्द्रबाट आएका विभिन्न योजनामा व्यापक भ्रष्टाचार भइरहेको आरोप भारतीय जनता पार्टीले लगाएको छ।

प्रधानमन्त्री  आवास योजना, उज्ज्वला योजना, वृद्धभत्ता, प्रधानमन्त्री ग्राम सड़क परियोजनालगायत सयदिने रोजगार योजना तथा अन्य विभिन्न केन्द्रिय योजनामा व्यापक भ्रष्टाचार भइरहेको भन्दै  बिहीवार भाजपा कालेबुङ जिल्ला कमिटीका सागर पोखरेलको नेतृत्व भाजपा कार्यकर्ताहरूको एक टोलीले कालेबुङ खण्ड विकास कार्यालयमा एक ज्ञापन सुम्पिएको छ।

खण्ड विकास अधिकारीको अनुपस्थितिमा संयुक्त खण्ड विकास अधिकारीलाई भाजपाको उक्त टोलीले ज्ञापन सुम्पेर उल्लिखित योजनाहरूमा भइरहेको भ्रष्टाचारमाथि जाँच गरी दोषी मानिसहरूमाथि कानुनी कारबाही गर्ने माग गरेको छ।

खण्ड विकास कार्यालयमा  ज्ञापन सुम्पिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै सागर पोखरेलले लगाएको आरोपका अनुसार प्रधानमन्त्री ग्राम आवास योजनाका लाभार्थीहरूलाई शुरुमा 25 हजार जमा गर्न लगाइँदैछ। यसका साथै केवल 60 हजार रुपियाँ दिएर घरको निर्माण कार्य गर्ने निर्देश दिइँदैछ। यद्यपि सरकारको गाइडलाइनमा यस्तो कुनै नियम नरहेको उनको भनाइ छ।

यसैगरी सयदिने रोजगार योजनामा सुपरभाइजर र पञ्चायतकर्मीहरूको मिलीभगतमा काम हुनेगरेको तथा सयदिने रोजगारका कर्मचारीहरूले भने ठीकसँग पैसा नपाएको पनि उनले दाबी गरे। स्थानीय भाजपा नेता पोखरेलले लगाएको आरोपका अनुसार सयदिने रोजगारको 80 प्रतिशत पैसा सुपरभाइजर, अधिकारी र राजनीतिक दलका नेताहरूको खोजीमा पसेर केवल 20 प्रतिशतको मात्र काम भइरहेको छ। संयुक्त खण्ड विकास अधिकारीले ज्ञापन स्वीकार गरी जाँच प्रक्रिया अघि बढ़ाउने तथा भ्रष्टाचारमा संलग्न व्यक्तिहरूविरुद्ध 15 दिनभित्र कारबाही गर्ने आश्वासन दिएको उनले बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here