दार्जीलिङ, 21 जुलाई : राज्यको शासक दल तृणमूल कङ्ग्रेसले आयोजन गरेको शहीद दिवस समारोहमा सहभागिता जनाउन कोलकाता पुगेका गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले बङ्गाल र भारत सरकारले गोर्खा सैनिकहरूलाई सही सम्मान दिनुपर्ने बताएका छन्। शहीद दिवस समारोगलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो सम्बोधन नेपाली भाषामा राखेका थिए। अर्कोतिर यसबारे जानकारी गराउँदै स्वयं विनय तामाङले एक विज्ञप्ति जारी गरेका छन्।
‘गोर्खाहरूको शहीदलाई पनि बङ्गाल र भारतले सही सम्मान दिएको हुनुपर्छ भन्ने कुरा कोलकातामा आयोजित शहीद दिवस समारोहमा आज मैले नेपाली भाषामा राखे। किनभने शहीदको कुनै जात र धर्म हुँदैन, उसले आफ्नो देशको शान्ति सुरक्षा र सम्प्रभुताका लागि आफ्नो प्राणको बलि चढ़ाउँछ। यस क्रममा हाम्रा गोर्खा शहीदहरूको योगदान अरूको योगदानभन्दा कम छैन।’
उनले विज्ञप्तिमा थप भनेका छन्, ‘आजको यस पुनित अवसरमा यस धरतीका लागि, हाम्रो भविष्यका लागि प्राणोत्सर्ग गर्ने उनै महान् आत्माहरूलाई ससम्मान श्रद्धाञ्जली अर्पण गर्दै राखेको वक्तव्यमा मैले गोर्खाहरूका शहीदहरूलाई पहाड़ र बङ्गालमा मात्र होइन,र सम्पूर्ण भारतभरि उचित सम्मान प्रदान गर्दै उनीहरूको योगदानलाई कदर गर्नपर्ने कुरा पनि स्पष्टसँग राख्नसके।’
यस क्रममा आफूले आउँदो 27 जुलाईको दिन सर्वभारतीय स्तरमा पालन गरिने शहीद दिवसको उल्लेख र स्मरण गराउँदै गोर्खाहरूको शहीदहरूलाई बङ्गाल र भारतद्वारा सही सम्मान दिइयोस् भन्ने दृढ़तापूर्वक माग राखेको पनि बताएका छन्।
‘हाम्रा शहीदहरूले हाम्रो भविष्यका लागि जुन बाटो निर्माण गरिदिएका छन् ,यसै बाटोमा हामी पनि आजदेखि उसो अग्रसर भएर हिँड्न सकौं भन्ने प्रण मञ्चबाट गरेको छु’, विनयले दाबी गर्दै भनेका छन्, ‘आज कोलकाताको मञ्चबाट मात्रै होइन, मैले हाम्रा शहीदहरूको उत्सर्गलाई हृदयमा राखेर आफ्नो जाति, भाषा-साहित्यको सेवाका लागि निरन्तर काम गर्ने प्रयास गर्दैआएको छु।’
यसका साथै आज आफूले उत्तर पूर्वी राज्यमा एनआरसीको कारणले 18 जनाले आत्मदाह/आत्महत्या गरेको र उनीहरूलाई पनि यसअवसरमा स्मरण गरी श्रद्धाञ्जली चढ़ाएको बताएका छन्।
‘आउँदो दिनमा पहाड़ र डुवर्सलाई राम्रो बनाउने तथा बङ्गाललाई पनि राम्रो बनाएर लैजाने प्रतिबद्धता जाहेर गर्दै सबैलाई शुभेच्छा प्रकट गरेको छु’, तामाङले भनेका छन्, ‘आजको समारोहमा मैले नेपाली भाषामा सम्बोधन गरी गोर्खा शहीदहरूलाई स्मरण गरी उनीहरूलाई बङ्गाल र भारतले सही सम्मान दिनुपर्छ भन्ने मन्तव्य गर्न पाएँ। त्यसमा म आफूलाई नेपालीभाषी हुनको नातामा गौरवान्वित ठानेको छु।’