अस्तित्वबिनाको आमरा बङ्गालीको विरोध गर्नु भनेको टाइमपास गर्नु हो, हामी टाइमपास होइन, काम गर्छौं : नीरज जिम्बा

0
2304
विधायक नीरज जिम्बा (फाइल फोटो)।

खरसाङ, 22 जुलाई : भाजपाका विधायक नीरज जिम्बाले आमरा बङ्गाली साम्प्रदायिक र बाहिरबाट सिलगढ़ी छिरेका एकाध मानिसहरूको सङ्गठन रहेकोले यस्ता सङ्गठनले दिएको बयानलाई महत्त्व दिएर प्रतिक्रिया गर्नु भनेको टाइमपास गर्नुजस्तै रहेको बताएका छन्।

‘आमरा बङ्गालीको बयानमा दार्जीलिङका सांसद् राजु विष्ट र विधायक नीरज जिम्बा किन मौन?’ भन्ने विनयपन्थी युवा मोर्चाको प्रश्नमाथि प्रतिक्रिया जनाउँदै विधायक जिम्बाले यस्तो बताएका हुन्।

‘आमरा बङ्गाली नामक सङ्गठन एक अपञ्जीकृत र काँड़ेतारबाट भारत छिरेका एकाध बङ्ग्लादेशी मानिसहरूको सङ्गठन हो। यो सङ्गठनलाई खाँटी र भद्र बङ्गाली सङ्गठनको समर्थन छैन’, उनले थपे, ‘अस्तित्व नै नभएको सङ्गठनको विरोध गर्नु भनेको टाइमपास गरेर समय खेरो फाल्नु हो। विधायक नीरज जिम्बा र सांसद् राजु विष्टले टाइमपास गर्दैनन्। काम गर्नेछन्। यसैले बिनामहत्त्व, बिनाप्रभाव, र अस्तित्वबिनाको सङ्गठनले दिएको बयानको विरोध गरेर हामी त्यस्ता सङ्गठनलाई महत्त्व दिने काम गर्दैनौं।’

विनयपन्थी गोजमुमोको मुद्दा र काम नरहेकोले अहिले यस्ता ससाना कुराहरूलाई ठूलो बनाएर राजनीतिक स्टन्ट गर्ने प्रयास गरिरहेको उनको दाबी छ।

‘आमरा बङ्गालीको जस्तै अब पहाड़मा विनयपन्थी गोजमुमोको अस्तित्व छैन’, उनले थपे, ‘लोकसभा र विधानसभा चुनाउमा नराम्रो घतले हारेपछि धताएको यो पार्टीले जे कुरामा पनि राजु विष्ट र नीरज जिम्बालाई देख्दैछ।’

उनका अनुसार आमरा बङ्गालीलाई भद्र बङ्गाली समुदायको कुनै राजनीतिक न त कुनै गैरराजनीतिक सङ्गठनको समर्थन प्राप्त छ। यो सङ्गठनमा एकाध व्यक्ति छन्, जसको काम गोर्खा र गोर्खाल्यान्डको विरोध गर्नु मात्र हो। ‘खोज्यौं भने यो सङ्गठनका सबै काँड़ेतारबाट भारत छिरेको पाइनेछ’, जिम्बाले थपे, ‘जतिबेला हामीलाई कुनै पञ्जीकृत सङ्गठन र राजनीतिक दलले विदेशी भन्नेछन्, त्यसबेला सबैभन्दा पहिला हामी विरोध गरेका हुनेछौं। उनीहरूले सोधिरहनु पर्दैन।’

यी विधायकले जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै थप भने, ‘चुनाउ हारेर आफ्नो अस्तित्व नरहेकोले थाहा पाएपछि विनयपन्थी गोजमुमोले उट्पट्याङ कुराहरू गर्दैछ। तर, जनताले उनीहरूको अनुहार राम्ररी चिनिसकेका छन्। अब जतिनै कराउँदा पनि उनीहरूलाई कसैले पत्याउनेछैनन्।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here