दार्जीलिङ, 22 जुलाई : दार्जीलिङ नगरपालिकालाई नगरनिगमको दर्जा प्रदान गर्ने प्रस्ताव आउँदो वर्षको विधानसभा सत्रमा पारित गरिने आश्वासन राज्यका शहरी विकास एवं नगरपालिका मामिलाका भारप्राप्त मन्त्री फिराद हाकिमले दिएको सोमवार एक प्रेस विज्ञप्तिमार्फत् गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले दाबी गरेका छन्।
तामाङ स्वयंले जारी गरेको विज्ञप्तिका अनुसार आज उनले शहरी विकास एवं नगरपालिका मामिलाका भारप्राप्त मन्त्री मन्त्री हाकिमसँग भेट गरी दार्जीलिङ नगरपालिकालाई नगरनिगमको मान्यता प्रदान गरिनुपर्ने मागमा एक ज्ञापन सुम्पेका थिए। यसैअवधि मन्त्रीले दार्जीलिङ नगरपालिकालाई नगरनिगम बनाउनका लागि राज्य सरकारले औपचारिक कार्य शुरु गरिसकेको जानकारी गराए। साथै आउँदो वर्षको विधानसभा सत्रमा यस सम्बन्धित प्रस्ताव पारित गरिने पनि तामाङलाई आश्वासन दिए।
1949 सालमा बनिएको सिलगढ़ी नगरपालिकाले अगावै नगरनिगमको दर्जा पाइसक्दा पनि 1850 सालमा बनिएको दार्जीलिङ नगरपालिकाले आफ्नो स्थापनाको 170 वर्ष नाघिसक्दा पनि अहिलेसम्म नगरनिगमको दर्जा नपाउनु ठूलो दुर्भाग्यको कुरो रहेको उल्लेख गर्दै विनय तामाङले दार्जीलिङ नगरपालिकालाआई चाँड़ोभन्दा चाँड़ो नगरनिगमको रूपमा बढ़ोत्तरी गरी दार्जीलिङ पहाड़लाई न्याय दिनुपर्ने माग मन्त्री हाकिमलाई चढ़ाएको ज्ञापनमा उल्लेख रहेको विज्ञप्तिमा बताइएको छ।
‘सन् 2000 सालमा र त्यसपछि 2002 सालमा पनि बारम्बार दार्जीलिङ नगरपालिकालाई नगर निगमको रूपमा बढ़ोत्तरी गरिनुपर्ने माग गरिएको भए तापनि हालसम्म पश्चिम बङ्गाल सरकारले यस विषयमा अहिलेसम्म कुनै निष्कर्ष ननिकालेको पनि उक्त ज्ञापनमा उल्लेख गरिएको छ भने 32 वटा वार्ड रहेको दार्जीलिङ नगरपालिकामा हालमा 2 लाखभन्दा धेर नगरबासी रहेको उल्लेख गरिएको छ’, विज्ञप्तिमा भनिएको छ।
साथै दार्जीलिङ नगरपालिकालाई अविलम्ब रूपमा नगरनिगमको दर्जा प्रदान गरिनुपर्ने मागमाथि सकारात्मक आश्वासन दिँदै मन्त्री फिराद हाकिमले अर्को विधानसभा सत्रमा यसमाथि निर्णय लिइने जानकारी गराएको पनि तामाङले विज्ञप्तिमा बताएका छन्।
‘दार्जीलिङ नगरपालिकालाई नगरनिगमको मान्यता प्रदान गरिनुपर्ने मागमा हामी लगातार राज्य सरकारसित कुराकानी गरिरहेका छौं। आज मन्त्रीसित पनि यसै विषयमा सकारात्मक कुराकानी भएको छ’, गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले विज्ञप्तिमा भनेका छन्, ‘आगामी वर्षभित्रमा दार्जीलिङ नगरपालिका नगरनिगमको परिणत हुनेछन् भन्ने हामीलाई आशा रहेको छ।