सिलगढ़ी, २२ जुलाई : दुई दिनदेखि लगातार परिरहेको पानीको कारण उर्लेको माञ्झा खोलाले सड़क र पुलले क्षति पुऱ्याएपछि लोहागढ़, पुटुङ र खोप्रेलका करिब पाँच हजार मानिसको सम्पर्क अन्य क्षेत्रसँग विच्छिन्न भएको छ। जसको फलस्वरूप यी क्षेत्रका मानिसहरू बिचल्लीमा परेका छन्।
पछिल्ला दुई दिनदेखि क्षेत्रमा अविरल परेको मुसलधारे पानीले माञ्झा खोला उग्र बनेपछि यो खोलाले सड़कलाई पूर्ण रूपले क्षति पुऱ्याएको छ भने पुल बगाउने स्थिति पुगेको छ। आज जीटीएका अधिकारीहरू घटनास्थलमा पुगेर माञ्झा खोलाले पुऱ्याएको क्षयक्षतिबारे आकलन गरे। ती अधिकारीहरूले माञ्झा खोला नजिककै रहेको गुहे खोलामा एक पुल बनाउने निर्देश दिएका छन्।
स्थानीयवासी शेखर छेत्रीका अनुसार प्रतिवर्ष स्थानीय गाउँहरूलाई बर्खे मौसममा माञ्झा खोला र गुहे खोलाले समस्या सिर्जना गर्ने गर्छन्। यी दुवै खोला बर्खे मौसममा उग्र रूपमा उर्लिने गरेकोले सड़क र पुललाई क्षति पुऱ्याउँदै आएका छन्। छेत्री भने, ‘बर्खे मौसममा सड़क र यातायातसम्बन्धित गम्भीर समस्या हामीले वर्षैपछि झेल्दै आएका छौं।’ उनका अनुसार क्षेत्रमा सड़क सम्पर्क र मोबाइल नेटवर्कको समस्या पनि उस्तै गाढ़ा छ।