मनाङ मर्स्याङ्दी क्लबले जित्यो गवर्नर्स गोल्ड कप

0
1149
गवर्नर्स गोल्ड कप जितेपछि ट्रफीसँग उल्लासित मनाङ मर्स्याङ्दी क्लबका खेलाड़ीहरू। 

गान्तोक, ३ नोभेम्बर : नेपालको चर्चित क्लब मनाङ मर्स्याङ्दी क्लबले सिक्किमको प्रतिष्ठित गोल्ड कप सिक्किम गवर्नर्स गोल्ड कपको उपाधि उचालेको छ। 

शनिवार पाल्जोर स्टेडियममा खेलिएको फाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबले  आर्मी रेडलाई १-० –को गोलअन्तरले पराजित गरी यो उपाधि उचालेको हो।
नेपालका लागि कप्तान सुजल श्रेष्ठले निर्णायक खेल गरे। खेलको ८१औं मिनटमा पाएको पेनाल्टीलाई श्रेष्ठले गोलमा परिणत गर्दै आफ्नो टीमलाई उपाधि दिलाएका हुन्।
आर्मी रेडले अन्तिम समयमा गोल गरी खेललाई बराबरीमा ल्याउने धेरै प्रयास गरे तापनि  नेपालको बलियो रक्षणपङ्क्तिलाई छक्याउन भने सकेन। खेलमा अधिकांश समय आर्मी रेडले बलमा आफ्नो नियन्त्रणमा राखेर पोजिजन बनाए तापनि गोल गर्न भने सकेन।
पहिलो हाफ् खेलरहित सकिएको थियो। रोमाञ्चक र अत्यन्त प्रतिस्पर्धी देखिएको यो फाइनल खेलमा दुवै टीमका खेलाड़ीहरूले गोल गर्ने केही सहज मौका पनि गुमाएका थिए। प्रतियोगितामा गोलको वर्षा गर्ने मनाङ मर्स्याङ्दी क्लबले क्वार्टर फाइलमा कोलकाता कस्टमलाई ४-२ र सेमिफाइनलमा एटीके कोलकातालाई ६-२ को फराकिलो गोलअन्तरले पराजित गरेको थियो।
टुर्नामेण्टमा मनाङ मर्स्याङ्दी क्लबका कप्तान सुजल श्रेष्ठ सर्वाधिक ४ गोल गरे। त्यसैगरी टुर्नामेण्टमा विमल राणा र डोना थापाले तीन-तीन गोल गरे। यसभन्दा अघि दुईपटक २०१३ र २०१४ –मा फाइनल खेलेको मनाङ मर्स्याङ्दी कप उपाधिविहीन बनेको थियो। यद्यपि यसपटक उपाधि जित्ने मनाङको सपना पूरा भएको छ। मनाङबाहेक टुर्नामेण्टमा भाग लिएको नेपालको अर्को क्लब आर्म्स पुलिस  फोर्स (एपीएफ)  भने पहिलो खेलमै कोलकाताको क्लब जर्ज टेलिग्राफसँग पराजित भएर बाहिरिएको थियो।
विजेता दललाई आकर्षक ट्रफीसहित नगर राशि दुई लाख र उपविजेता दललाई ट्रफीसहित नगद राशि एक लाख रुपियाँ प्रदान गरियो।

आजको खेलमा प्रमुख अतिथिको रूपमा सिक्किमका राज्यपाल गङ्गा प्रसाद उपस्थित थिए। त्यसैगरी विशिष्ट अतिथिको रूपमा राज्यका खेल तथा युवा मामिला विभागका मन्त्री आरबी सुब्बा उपस्थित थिए। यसअवसरमा सिक्किमलगायत कालेबुङ र दार्जीलिङ १० जना पूर्व फुटबल खेलाड़ीलाई उनीहरूले फुटबल खेलका लागि पुऱ्याएको उल्लेखनीय सेवालाई कदर गर्दै सिक्किम फुटबल एसोसिएशनले सम्मान जनायो।

सम्मानित हुने खेलाड़ीहरूमा कालेबुङका निम छिरिङ लेप्चा र चाम्बा डेण्डुप भोटिया, दार्जीलिङका महेन्द्र सुब्बा र सुरेन पाखरिन थिए भने सिक्किमबाट कौशल सुबब्बा, ठाकुर राई, टाशी छोपेल लेप्चा, सोनाम लेप्चा, सुरेन मुखिया र श्रीमती पुष्पा छेत्री गुरुङ थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here