शहीदहरूको सपना पूरा नभएसम्म हामी हाम्रो मुद्दामा एक भएर उभिएका हुनेछौं : विमल

0
1640
विमल गुरुङ (फाइल फोटो)।

दार्जीलिङ, 27 जुलाई  : गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पहिलो खेमाका अध्यक्ष विमल गुरुङले  छुट्टै राज्य गोर्खाल्यान्डका लागि प्राणको आहुति दिने सम्पूर्ण शहीदहरूमा श्रद्धाञ्जली अर्पण गरेका छन्।

शनिबार गोर्खाल्यान्ड आन्दोलनका सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै गुरुङले एक प्रेस विज्ञप्ति जारी गरेका छन्। ‘आजको दिन गोर्खाल्यान्डका लागि शहीद भएका आजसम्मका तमाम पवित्र आत्माहरूलाई साक्षी राखेर हाम्रो माटोको संवैधानिक उन्मुक्तिका लागि सङ्कल्प दोहोऱ्याउने पवित्र दिन हो’, विमलले विज्ञप्तिमा भनेका छन्, ‘आज हामीले 27 जुलाई 1986 को त्यो कालो दिनलाई सम्झना गर्नुपर्छ, जुन दिन आफ्नो अनि भावी पिँढ़ीका लागि भारतमा गोर्खाको परिचय खोज्न कालेबुङमा भेला भएका निर्दोषहरूमाथि बङ्गाल सरकारको निर्देशमा सीआरपीएफ र एसएपीले गोली चलाएर रगतको खोला बगाएका थिए।’

गुरुङका अनुसार भारतीय गोर्खाहरूको नागरिकतालाई विवादित उभ्याउने भारत-नेपाल सन्धिको धारा 7 -विरुद्द भेला भएका जनतामाथि निर्ममतापूर्वक सत्ताले गोली चलाउनु भनेकै गोर्खालाई व्यवस्थाले नै राष्ट्रिय मूलधारामा आउनुबाट बाधित गर्नुथियो।

यस्ता कुराहरूलाई गोर्खा जातिले जरैबाट बुझेको हुनुपर्ने उनको भनाइ छ। ‘हाम्रो माग असंवैधानिक होइन। हामी काँड़ेतार छिरेर आएका नागरिक होइनौं। हामी माटोसँगै आएका खाँटी भारतीय नागरिक हौँ। अनि पूर्णरूपमा राष्ट्रिय मुलधारामा रहेर देशको सुरक्षा र विकासका लागि काम गर्न चाहने देशप्रेमी आन्दोलनकारीहरू हौं’, गुरुङले विज्ञप्तिमा थप भनेका छन्, ‘गोर्खाल्याण्ड आन्दोलन देशको हितमा छ। पवित्र छ। हाम्रा शहीदहरूले देशहितमा देखेको गोर्खाल्यान्डको सपना पूरा नभएसम्म हजार षड़यन्त्र पार गर्दै भएपनि हामी हाम्रो मुद्दामा एक भएर उभिएका हुनेछौं।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here