मुङ्पेल प्रापाको अपूर्ण भवन निर्माण, विष्णु छेत्रीले भने-जीटीएमा चारैतिर धाँधली र भ्रष्टाचार

0
1571

कालेबुङ, 31 जुलाई : कालेबुङ कृषक कल्याण सङ्गठन (केकेएस)-का महासचिव विष्णु छेत्रीले गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनमा भइरहेको भ्रष्टाचारको मुद्दालाई उठाएका छन्। यसका लागि उनले  कालेबुङ जिल्लाको दुर्गम मुङ्पेल बस्तीमा रहेको प्राथमिक पाठशालाको नवनिर्मित भवनलाई अघि सारेका छन्। छेत्रीका अनुसार उक्त स्कूलको नवनिर्मित भवन नै जीटीएमा भइरहेको भ्रष्टाचारको ज्वलन्त उदाहरण हो।

“जीटीएमा जहीं त्यहीं भ्रष्टाचार भइरहेको छ”, छेत्रीले थपे, “जीटीएमा भइरहेको भ्रष्टाचार र धाँधलीलाई हेर्न टाढ़ा गइरहन पर्दैन। हाम्रै आँखा वरिपरि देख्न पाइन्छ।” उनले जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै थपे, “मुङ्पेल प्राथमिक पाठशालाको नवनिर्मित भवनका खिड्कीहरूमा न ऐना छ, न त विद्यार्थीहरू बसेर पढ़नका लागि बेञ्चहरू नै छन्। तर, बोर्डमा स्कूल भवनको निर्माणकार्य दुई महिनाअघि नै सकिएको बताइएको छ। जीटीएमा कतिसम्म भ्रष्टाचार भइरहेको छ, यसैबाट प्रमाणित हुन्छ।”

उनका अनुसार मुङ्पेल प्राथमिक पाठशालामा 30-35 विद्यार्थी अध्ययन गर्छन्। यी सबै विद्यार्थी मुङ्पेलका गरीब कृषकहरूका छोरा-छोरी हुन्। आर्थिक समस्या कमजोर भएका र पूर्ण रूपले कृषिमाथि निर्भर मुङ्पेलका मानिसहरूले आफ्ना नानीहरूलाई शहरका निजी स्कूलहरूमा पढ़ाउन सक्दैनन्। यसैले यस्ता स्कूलहरूमा धाँधली र भ्रष्टाचार हुनु भनेको ती गरीब कृषकहरूका छोराछोरीको भविष्य र शिक्षाको अधिकारमाथि कुठाराघात गर्नु हो।

स्कूलमा लगाइएको बोर्डमा उल्लेख गरिएअनुसार मुङ्पेल प्राथमिक पाठशालाको नवनिर्मित  भवनको टेन्डर राशि 17 लाख, 47 हजार 391 रुपियाँ रहेको छ भने 11 मई 2018 मा  शुरु भएको निर्माणकार्य 16 मई 2019 मा पूर्ण भएको बताइएको छ।

“स्कूल भवनमा रङपचेरा नगरी, खिड़्कीहरूमा ऐना लगाइ र विद्यार्थीहरू बसेर पढ़ने बेञ्चहरू नबनाई स्कूल भवनको निर्माणकार्य कसरी सकियो?”, केकेएसका महासचिव छेत्रीले प्रश्न गरेका छन्, “यसरी जीटीएमा जहीं त्यहीं भ्रष्टाचार हुँदा पनि राज्य सरकार र प्रशासन किन मौन छन्? यस्ता भ्रष्टाचारविरुद्ध किन कारबाही भएको छैन?”

उल्लेखनीय छ, पूर्ण रूपले कृषिमाथि निर्भर मुङ्पेल त्यही बस्ती हो, जहाँ 23 जूनको दिन भएको पुल दुर्घटनामा दुईजना नागरिकले ज्यान गुमाएका थिए। यो दुर्घटनालाई पनि छेत्रीले अघि सारेका छन्। साथै शहरदेखि केही टाढ़ा रहेको भालुखोपका दुईवटा आधाकल्चो सड़कलाई पनि देखाए।

अर्कोतिर, विष्णु छेत्रीले मुङ्पेल स्कूल भवन निर्माणमा भएको आर्थिक धाँधलीलाई सोशल मिडियामा उठाएका छन्।

आफ्नो फेसबुक अकाउन्टमा उनले लेखेका छन्, ‘शिक्षालाई प्राथमिकता दिएर काम  गरिरहेको जीटीएले ठोकुवा गरे तापनि शिक्षकनियुक्तिमा धाँधली गरेको कुरा चलिरहेकै समय मुङपेल प्राथमिक पाठशालामा धाँधली भएको कुरा अघि आएको छ। 17,47,391.00 रुपियाँको स्कूल मई 2019-मा पूर्ण रूपमा बनिएको बोर्ड झुण्डाए पनि स्कूल भने पूर्ण भएको छैन। स्कूल भवन बनिए पनि नानीहरू बसेर पढ़ने बेञ्च, खिड़्कीमा ऐना र रङपचेराबिना नानीहरू बिजोकले बढ़िरहेका छन्।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here