जनजातिको मुद्दा : सांसदद्वय विष्ट र सुब्बाले भेटे केन्द्रिय जनजाति मन्त्रीलाई

1
1471
केन्द्रिय मन्त्री अर्जुन मुण्डासँग भेटवार्ता गर्दै सांसदद्वय विष्ट र सुब्बा।

दार्जीलिङ, ६ अगस्त : दार्जीलिङ र सिक्किमका सांसदद्वय राजु विष्ट र इन्द्रहाङ सुब्बाले गोर्खा समुदायका ११ जातगोष्ठीलाई जनजातिको मान्यता दिनुपर्ने माग सम्बन्धमा मङ्गलवार केन्द्रिय  जनजाति मन्त्रालयका मन्त्री अर्जुन मुण्डासँग भेट गरे।

यसअवधि दुवै सांसदले यी ११ जातगोष्ठीलाई पाउनुपर्ने जनजातिको मान्यताबारे पछिल्ला केही दिनयता समाचार पत्रहरूमा प्रकाशित समाचारहरूको कारण उत्पन्न भ्रमबारे अवगत गराए। यसका साथै उनीहरूद्वयले जनजातिको मागबारे केन्द्रिय मन्त्रीसँग विस्तृत छलफल गरे।  

आज सांसद राजु विष्टले एक प्रेस विज्ञप्तिमार्फत जानकारी गराएअनुसार भेटवार्तामा केन्द्र मन्त्री मुण्डाले गोर्खा जातिका ११ जातगोष्ठी र यी जातगोष्ठीहरूको मागबारे आफू प्रतिबद्ध रहेको जनाउँदै सरकारले जनजाति मान्यताका लागि सबै नियम र औपचारिकता पूरा गर्ने आश्वासन दिएका छन्।

यसअवसरमा सांसद विष्टले गोर्खा समुदायका ११ जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्ने प्रतिबद्ध भाजपाले सङ्कल्प-पत्रमा समावेश गरेको बताएका छन्। उनको दाबीका अनुसार यसबारे कार्य भइरहेको छ।

‘मिडियाका केही भागमा छापिएका निराधार अफवाहहरूमाथि विश्वास नगर्ने म मानिसहरूलाई अनुरोध गर्दछु’, उनले भनेका छन्, ‘मैले सिक्किमका मेरा समकक्षी इन्द्रहाङ सुब्बासँग मिलेर यस मुद्दालगायत अन्य मुद्दाहरूजस्तै रेलवे, राजमार्ग र क्षेत्रका अन्य बुनियादी ढाँचासम्बन्धमा काम गरिरहेको छु।’

अर्कोतिर, सिक्किमका युवा सांसद सुब्बाले पनि गोर्खा समुदायका ११ जातगोष्ठीलाई जनजातिको मान्यता दिलाउनका लागि दुवै मिलेर कार्य गर्न प्रतिबद्ध रहेको बताएका छन्।

‘केन्द्रिय मन्त्रीसँग हामी भेटवार्ता धेरै सार्थक भएको छ। हामी उनलाई जनजातिको मान्यता प्रदान गर्ने दिशामा सरकारले चाँड़ोभन्दा चाँड़ो कार्य गर्नुपर्ने माग गरेका छौं’, उनले भनेका छन्। सुब्बाले यसविषयमा लगातार विष्टसँग मिलेर कार्य गर्ने थप बताएका छन्।

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here