विष्टले गोर्खाल्यान्डको मुद्दा सदनमा राख्नुपर्ने विनयको माग

1
1213
विनय तामाङ (फाइल फोटो)।

दार्जीलिङ, ६ अगस्त : गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले दार्जीलिङका सांसद राजु विष्टले सदनमा गोर्खाल्यान्डको माग उठाउनु पर्ने माग गरेका छन्। मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गरी तामाङले यस्तो माग गरेका हुन्।

विशेषगरी सोमवार राज्यसभामा बोडोल्यान्ड पीपल्स फ्रन्टका राज्यसभा सांसद विश्वजीत दैमारीले बोडोल्यान्ड र गोर्खाल्यान्डको माग उठाएको प्रसङ्गलाई लिएर विनयले विष्टसँग सदनमा गोर्खाल्यान्डको माग उठाउने माग गरेका हुन्। उल्लेखनीय छ,  बोडोल्यान्डका राज्यसभा सांसद दैमारीले जम्मू-कश्मीरबाट धारा ३७० हटाउने निर्णयलाई समर्थन जनाउँदै दीर्घकालीन बोडोल्यान्ड र गोर्खाल्यान्डको माग उठाएका थिए।

‘उनको यस्तो साहसी कदम र हामी गोर्खाप्रतिको मायालाई हृदयदेखि नै लाखौं लाख धन्यवाद दिन चाहन्छौं। गोर्खाल्यान्ड माग आजको होइन, यो माग वर्षौंदेखि चलिआएको हो। दैमारीले जस्तै संसदमा हाम्रो क्षेत्रलाई केन्द्रिय सरकारअघि पुऱ्याउन विगतमा पनि देशका अन्य समष्टिका सांसदहरूले आवाज उठाउँदै आइरहेको हामीले देख्दै आइरहेका छौं’, विनयले विज्ञप्तिमा भनेका छन्, ‘दार्जीलिङका सांसद राजु विष्टले हाम्रो समष्टिबाट रेकर्ड भोट पाएर संसद पुगेका हुन्। तर, आज उनी दार्जीलिङको मूल मुद्दादेखि हटेर अन्य मुद्दामा मात्र संसदमा वक्तव्य राखिरहेका छन्। लोकसभामा दार्जीलिङका आफ्नै सांसद हुँदाहुँदै पनि दार्जीलिङको दीर्घकालीन मुद्दालाई उनले उठाउन सकिरहेका छैनन्। हामी मान्छौं, हाम्रा अन्य समस्याहरू छन्। तर, हाम्रो प्राथमिक मुद्दा केवल गोर्खाल्यान्ड हो। उनलाई पहाड़वासीले अन्य मुद्दामा बोल्न होइन, गोर्खाल्यान्डको मुद्दा उठाउन अनि यो मुद्दालाई पार लगाउन विपुल मतले जिताएर पठाएका हुन्।’

तामाङले थप भनेका छन्, ‘देशमा वर्तमानमा चलिरहेको जटिल राजनीतिक मुद्दा अहिले जम्मू-कश्मीरको रहेको छ। जसरी त्यहाँ केन्द्र सरकारले आफ्नो शक्ति प्रदर्शन गरेर निर्णय लियो, त्यसरी नै दार्जीलिङको विषयमा पनि यदि केन्द्र सरकारले सकारात्मक सोच राखेर कार्य गर्नु हो भने पृथक राज्य गोर्खाल्यान्ड सम्भव रहेछ भन्ने आज प्रमाणीकरण भएको छ। आगामी दिनहरूमा भाजपा हामीप्रति कतिको इमानदार रहेछ भन्ने कुरा अझै पनि देख्न बाँकी नै छ। तर, अहिलेसम्म भाजपाको गोर्खाप्रतिको दृष्टिकोण जहिल्यै पनि नकारात्मक आइरहेको ११ जातगोष्ठीको मुद्दामा रजिस्ट्रार जेनरलको रिपोर्टले सार्वजनिक गरिसकेको छ।’ विनयले गोर्खाल्यान्डप्रति सांसद राजु विष्टको के कस्तो अड़ान छ भन्ने प्रश्न गरेका छन्।  साथै यदि सांसद विष्ट गोर्खाल्यान्डको गठनको मागलाई लिएर इमानदार छन् भने चाँड़ोभन्दा चाँड़ो दार्जीलिङ दीर्घकालीन माग गोर्खाल्यान्डलाई सदनमा उठाउनुपर्ने माग गरेका छन्।

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here