नयाँ दिल्ली, ७ अगस्त : पूर्व विदेश मन्त्री एवं भारतीय जनता पार्टीकी वरिष्ठ नेता सुषमा स्वराज अब सशरीर हामीमाझ रहिनन्। मङ्गलवार मध्यराति उनको निधन भयो। उनी ६७ वर्षकी थिइन्।
हृदयघातको कारण मङ्गलवार उनलाई एम्समा भर्ती गरिएको थियो। उनको आज अपराह्न ४ बजे अन्तिम संस्कार गरिनेछ। यसभन्दा अघि अन्तिम दर्शनका लागि सुषमा स्वराजको पार्थिव शरीरलाई भाजपाको मुख्यालयमा राखिनेछ। २५ वर्षकी उमेरमा नै भारतीय राजनीतिमा उदाएकी स्वराज संसद पुग्ने सबैभन्दा सानी सांसद पनि थिइन्। यद्यपि स्वास्थ्यको कारण यसपालिको लोकसभा चुनाउ नलड़्ने उनले पछिल्लो वर्ष नै घोषणा गरेकी थिइन्।
उल्लेखनीय छ, हृदयघात हुनभन्दा केही घण्टा अघि मात्र जम्मू-कश्मीरबाट धारा ३७० हटाउने सरकारको निर्णयलाई समर्थन गर्दै उनले ट्विट गरेकी थिइन्।
उनले ट्विटमा भनेकी थिइन्- ‘प्रधानमन्त्रीजी तपाईँलाई हार्दिक अभिनन्दन। म जीवनमा यसै दिनलाई पर्खेर बसेको थिएँ।’
अर्कोतिर प्रधानमन्त्री नरेन्द्र मोदीसहित देशका ठूल्ठूला नेताहरूले ट्विट गरी सुषमा स्वराजलाई श्रद्धाञ्जली दिएका छन्।
मोदीले आफ्नो ट्विटमा लेखेका थछन् –‘भारतीय राजनीतिका एक महान् अध्याय समाप्त भएको छ। भारत आफ्ना एक महान् नेताको निधनमा शोक मनाइरहेको छ। जसले मानिसहरूले सेवा र गरीबहरूको जिन्दगी राम्रो बनाउनका लागि जीवन समर्पित गरिन्।’
मोदीले आफ्नो ट्विटमा यी पूर्व विदेश मन्त्रीलाई करोड़ौं भारतीयहरूको प्रेरणास्रोत, अद्भूत वक्ता र उत्कृष्ट सांसद बताएका छन्।
उल्लेखनीय छ, उनी दिल्लीकी मुख्यमन्त्री बन्ने पहिलो महिला पनि थिइन्। स्वराजलाई एक प्रखर र ओजस्वी वक्ता, प्रभावी सांसद र कुशल प्रशासक थिइन्। एक समय भाजपामा अटलबिहारी वाजपेयीपछि प्रमोद महाजन र सुषमा स्वराज सबैभन्दा लोकप्रिय वक्ता थिए।