दार्जीलिङ, 10 अगस्त : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) जनचेतना सङ्घर्ष समितिले सिञ्चेलधाम जाने टाइगर हिलको बाटोलाई लिएर प्रश्न उठाएको छ। आज समितिकी अध्यक्ष मञ्जिला तामाङको नेतृत्वमा एक टोलीले टाइगर हिल जानेको बाटोको निरीक्षण भ्रमण गरेको थियो।
उक्त बाटो बनिएको दुई महिना राम्रोसँग नबित्दै भत्किन शुरु भइसकेको तामाङले बताउँदै पर्सण्टेज (प्रतिशत)-कै कारण टाइगर हिलको बाटो राम्रो नबनिएको दाबी गरिन्।
“सिञ्चेलधाम जाने पुरानो बाटो बनिएको दुई महिना नबित्दै भत्किन शुरु भएको छ”, उनले भनिन्। तामाङले बाटोको दुरवस्थाका लागि ठेकादार र विभागीय अधिकारहरू दायी रहेको बताइन्।
साथै उनले बाटो निर्माणकार्यको निरीक्षण नगरी विभागले कसरी बील पास गरिरहेको विषयमा प्रश्न उठाउँदै विभागले निर्माणकार्यको गुणात्मकतालाई कठोरतापूर्वक हेर्नुपर्ने माग गरिन्। “पर्सण्टेज मात्र तपाईंहरू नबस्नुहोस्”, विभागीय अधिकारीहरूलाई दोष्याउँदै उनले थपिन्, “पर्सण्टेज पाएर विभागीय अधिकारीहरू छपक्क बसेकै कारण यो बाटोको यस्तो अवस्था भएको हो।”
उनले यो बाटो मात्र होइन, तर पहाड़का ठाउँ ठाउँका बाटोहरू आज पर्सण्टेजकै कारण खराब बनिरहेको आरोप पनि लगाइन्। यसका साथै विभाग र ठेकादारले उक्त टाइगर हिल जाने बाटो राम्रो गरी निर्माण गर्नुपर्ने तथा काम ठीक नगरेसम्म सम्बन्धित कार्यको बील रोकेर राख्नुपर्ने माग गरिन्। यदि उक्त बाटोको निर्माणकार्य ठीकसँगले नभए, गोरामुमो जनचेतना सङ्घर्ष समितिले तीव्र विरोध गर्ने तामाङले चेताउनी दिइन्।