अरूगि पुरस्कार उर्मिला घिसिङलाई प्रदान गरिने

0
2371
साहित्यकार उर्मिला घिसिङ (फाइल फोटो)।

खरसाङ, 12 अगस्त :  अरूगि संस्थान खरसाङले प्रतिवर्ष प्रदान गर्दै आएको अरूगि पुरस्कार यसवर्ष साहित्यकार उर्मिला घिसिङलाई प्रदान गरिने निर्णय गरेको छ। उनलाई आगामी 15 सेप्टेम्बरको दिन स्थानीय पार्क लोकेशनस्थित सामुदायिक भवनमा एक साहित्यिक कार्यक्रमको आयोजन गरी पुरस्कार अर्पण गरिनेछ।

नेपाली साहित्यका त्रिमूर्ति अच्छा राई ‘रसिक’, रूपनारायण सिंह र अमगसिंह गिरीको नाममा वर्ष 1978-मा स्थापित अरुगि संस्थानले 1990 देखि प्रतिवर्ष अरूगि पुरस्कार प्रदान गर्दै आएको छ।

यलपालि अरूगि पुरस्कार सुकनानिवासी साहित्यकार उर्मिला घिसिङलाई दिने निर्णय गरिएको संस्थानका अध्यक्ष सुकबहादुर  सुनवारले जानकारी गराएका छन्। साहित्यकार घिसिङ अरूगि पुरस्कारको 29 वर्षे इतिहासमा पुरस्कार प्राप्त गर्ने तेस्रो नारी स्रष्टा हुन्। यसभन्दा अघि कालेबुङनिवासी सम्पूर्ण राई र मटिल्डा राईजस्ता नारी स्रष्टालाई अरूगि पुरस्कारले सम्मानित गरिएको थियो।

संस्थानका अनुसार उर्मिला घिसिङको नेपाली भाषाप्रतिको योगदान कदर गरिने पुस्कारका लागि चयन गरिएको हो। स्मरणरहोस्, घिसिङका उच्छवास (कविता सङ्ग्रह-2010), मृगतृष्णा (एकांकी सङ्ग्रह 2019) र विम्ब कविता (2018) प्रकाशित छ।

अर्कोतिर संस्थानका सचिव ग्याल्पो लामाका अनुसार आगामी 15 सेप्टेम्बरको दिन आयोजन गरी पुरस्कार अर्पण समारोहकै अवसरमा साहित्य अकादमी पुरस्कार प्रापक डा. वीणा हाङ्खिम र साहित्य अकादमी अनुवाद पुरस्कार प्रापक मोणिका मुखियालाई पनि संस्थानले सम्मान जनाउनेछ। उनका अनुसार दुवै संस्थानका आजीवन सदस्य पनि हुन्।

कार्यक्रममा पुरस्कारको रूपमा साहित्यकार घिसिङलाई प्रमाण-पत्र, अङ्गवस्त्र, अरूगि अङ्कित चाँदीको प्रतीक र नगद रु. 11,001 अर्पण गरिनेछ। यसअवसरमा साहित्यिक कार्यक्रम पनि आयोजन गरिनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here