सिलगढ़ी, १९ अगस्त : डिस्ट्रिक्ट रेभेन्यु एन्टेलिजेन्स (डीआरआई) –ले फाँसीदेवाको गोवलपोखरीबाट १० किलोग्रामको सुनसहित तीनजना मानिसलाई पक्राउ गरेको छ। डीआरआईले पक्रा परेका तीन मानिसबाट ६० वटा सुनको बिस्कुट बरामद गरेको छ। जसको ओजन १० किलोग्राम रहेको बताइएको छ। डीआरआई सूत्रका अनुसार उनीहरू एक वाहनमा सवार भई मिजोरमबाट कोलकातातर्फ गइरहेका थिए। जफत गरिएको सुनको मूल्य ३ करोड़ ८० लाख बताइएको छ।
डीआरआई सूत्रका पक्रा पर्नेहरूको नाम जोमुन्किमा एच, रुल्सङ्गपुपिया र लालनेहलिया रहेको छ। उनीहरू तीनैजना मिजोरमनिवासी हुन्। उनीहरूले मिजोरमबाट ल्याएको सुनको तस्करी कोलकातामा गर्ने योजना थियो। डीआरआईले उनीहरू सवार कार पनि जफत गरेको छ। जानकारीका अनुसार आज तीनैजनालाई सिलगढ़ी अदालतमा प्रस्तुत गरियो। तीनैजना आरोपीविरुद्ध सीमा शुल्क अधिनियम १९६२ को धारा १०४ अन्तर्गत मामिला दर्ता गरिएको छ।