दार्जीलिङ, २१ अगस्त : पछिल्लो १९ अगस्तको दिन कोलकाता उच्च न्यायालयको जलपाइगढ़ी सर्किट बेञ्चबाट जमानत पाएका विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष आरपी वाइबा बुधवार साँझ जेलमुक्त भएका छन्।
७९ वर्षीय वाइबाले दुई महिनाभन्दा बढ़ी समयदेखि जेलमा बन्दी जीवन बिताइरहेका थिए। उल्लेखनीय छ, पछिल्लो ९ जूनको दिन सिलगढ़ी गइरहेको समयमा विमलपन्थी मोर्चाका यी वरिष्ठ नेतालाई भानु भवनको मुद्दामा पुलिसले पक्राउ गरेको थियो।
१४ जूनको दिन चीफ जुडिसियल म्याजिस्ट्रेड (सीजेएम) कोर्टबाट उनले जमानत पाएका थिए। यद्यपि लगत्तै अन्य मुद्दाहरू उनीमाथि ट्याग गरेपछि रिहाइ हुनसकेका थिएनन्। तर, सोमवार जलपाइगढ़ी सर्किट बेञ्चबाट रहल सबै मुद्दामा जमानत पाएपछि रिहाइ सम्भव बनेको हो।
स्मरणरहोस्, हिरासतमा राखिएका वाइबामाथि पुलिसले अन्याय-अत्याचार र प्रताड़ित गरेको आरोप उठेको थियो। दार्जीलिङका सांसद राजु विष्टले पनि हिरासतमा बङ्गाल पुलिसले वाइबालाई कुटपिट र प्रताड़ित गरेको मुद्दालाई संसदमा उठाएका थिए।