कालेबुङ, 21 अगस्त : पहाड़का नर्सिङ ट्रेनिङ स्कूलहरूमा स्थानीय विद्यार्थीहरूले अवसर नपाएको घटना सेलाउन नपाउँदै पुन: कालेबुङ सरकारी पोलिटेक्निक कलेजमा पनि स्थानीयले अवसर नपाएको घटना सार्वजनिक भएको छ।
यसै वर्षदेखि शुरु भएको पोलिटेक्निक कलेजमा भर्ना पाएका कुल 82 जना विद्यार्थीमध्ये बाहिरका 79 विद्यार्थीले अवसर पाएको मार्क्सवादी कम्युनिस्ट पार्टीले खुलासा गरेको छ। माकपाका अनुसार कालेबुङ पोलिटेक्निक कलेजमा स्थानीय तीनजनाले मात्र भर्ना पाएका छन्।
“सरकारी अधिसूचनामा कालेबुङ अनि दार्जीलिङ जिल्लाका 70 प्रतिशत विद्यार्थीले अवसर पाएको हुनुपर्छ भनेर लेखिएको छ”, माकपा नेता तारा सुन्दासले भने, “तर कलेजमा 82 जना भर्ना भएका छन्, जसमा स्थानीय तीनजनाले मात्र अवसर पाएको छ, अरू जम्मै बाहिरका छन्। अब कसले बोल्ने?”
सुन्दासका अनुसार कलेजको उद्घाटन समेत नभई कक्षा शुरू भइसकेको छ। कलेज शुरू भएको कुरा कसैलाई जानकारीसमेत गराइएन। अचानक कक्षा शुरू भयो। तर, पहाड़का विद्यार्थीहरूले अवसर पाएनन्।
यी माकपा नेताले थप बताएअनुसार कलेजको आधिकारिक वेबसाइटमा कलेजमा सिभिल इन्जिनियरिङमा डिप्लोमा गर्नमा 60 जना, कम्प्युटर साइन्स एण्ड टेक्नोलजीमा 60 जना अनि इलेक्ट्रोनिक इन्जिनियरिङमा 60 जना गरी 180 जनाको स्थान रहेको छ। जसमा प्रत्येक विभागमा पहाड़का 70 प्रतिशत विद्यार्थीले अवसर पाउने कुरा सरकारी अधिसूचनामा उल्लख हुँदाहुँदै पनि यहाँका विद्यार्थीहरूलाई वञ्चित गराइएको सुन्दासको आरोप छ।
“एक वर्षमा मात्र 1500 रुपियाँ तिरेर जुनियर इञ्जिनियर बन्नसक्ने अवसर कालेबुङ सरकारी पोलिटेक्निक कलेजले दिएको भए तापनि यहाँका विद्यार्थीहरूले त्यो अवसर पाएनन्”, सुन्दासले भने, “यहाँका विद्यार्थीहरूले आफ्नै ठाउँमा नर्सिङ गर्न पाएका छैनन्, पोलटेक्निकमा अवसर पाएका छैनन्। यो शासक दलको जिम्मेवारी हो, विधायकहरूको जिम्मेवारी हो, व्यापक मतले जित्ने सांसदको जिम्मेवारी हो।”
कालेबुङ पोलिटेक्निक कलेजमा खरसाङबाट तीनजना शिक्षक अनि सिलगढ़ीबाट दुईजना शिक्षक ल्याएर कक्षा शुरू गरिसकेको जानकारी गराउँदै उनले पार्टी पक्षबाट पहाड़का विद्यार्थीहरूले भर्ना नपाएकोमा प्रतिवाद जनाएका छन्।