विष्टले भेटे जावडेकरलाई, उठाए खरसाङ रेडियो र नेपाली च्यानलको मुद्दा

1
1790

दार्जीलिङ, 22 अगस्त : सांसद राजु विष्टले बिहीवार केन्द्रिय सूचना एवं प्रसारण मन्त्री प्रकाश जावडेकरलाई भेट गरी आकाशवाणी खरसाङको शर्टवेभ ट्रान्समिटर र समर्पित डीडी नेपाली च्यानलको  मागलाई उठान गरेका छन्।

विष्टले आज विशेषगरी आकाशवाणी खरसाङको शर्टवेभ ट्रान्समिटर बन्द गर्नका लागि अल इण्डिया रेडियो  महानिर्देशालयद्वारा जारी आदेशबारे केन्द्रिय मन्त्रीलाई अवगत गराएका थिए।

यसअवधि उनले खरसाङ रेडियोको शर्टवेभ ट्रान्समिटर बन्द गर्नको सट्टा नयाँ र आधुनिक 300 किलोवाटको ट्रान्समिटर जड़ान गरिनुपर्ने अनुरोध गरे। उल्लेखनीय छ, 21 गैर-कार्यात्मक शर्टवेभ बन्द गर्ने अल इण्डिया रेडियो महानिर्देशालयले आदेश जारी गरेको, जसमा खरसाङ रेडियोको शर्टवेभ ट्रान्समटिर पनि सामेल छ।

केन्द्रिय मन्त्रीसँगको भेटवार्तामा विष्टले नयाँ डीआरएम ट्रान्समिटर जड़ान नभएसम्म खरसाङ रेडियोमा एसडब्ल्यू ट्रान्समिटरबाटै प्रसारण पुनः शुरु गर्ने आदेश जारी गरिनुपर्ने माग पनि गरे।

यसका साथै उनले केन्द्रिय सूचना एवं प्रसारण मन्त्रीसँग एक समर्पित डीडी नेपाली च्यानल स्थापना गरिनुपर्ने अनुरोध गरेका छन्। डेढ़ करोड़ भारतीय गोर्खाका भाषा, संस्कृति र परम्परालाई देशका अन्य समुदायसित साझा गर्नका लागि नेपाली  च्यानल आवश्यक रहेको कुराबारे अवगत गराए।

एक विज्ञप्तिमार्फत सांसद विष्टले बताएअनुसार एक समर्पित डीडी नेपाली च्यानल नभएकै कारण गोर्खा समुदाय दूरदर्शनबाट प्रसारित जानकारी र ज्ञानबाट वञ्चित हुँदै आएको छ। साथै गोर्खा कला र संस्कृतिको संरक्षण तथा संवर्धनमा समस्या सिर्जना भएको छ।

“एक समर्पित डीडी नेपाली च्यानल नभएकै कारण हाम्रा कलाकार र सांस्कृतिककर्मीहरू राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गर्नबाट वञ्चित भइरहेका छन्। साथै हाम्रो भाषा र संस्कृतिको प्रचारमा पनि बाधा पुगिरहेको छ”, विष्टले भनेका छन्।

उनले बताएअनुसार मन्त्री जावड़ेकरले यी सबै समस्या चाँड़ै हल गर्ने आश्वासन दिएका छन् भने दूरदर्शनमा नेपाली च्यानल शुरु गर्ने मागमा पनि सकारात्मक र उत्साहित देखिएका छन्।

यी उल्लिखित मागसम्बन्धमा सांसद राजु विष्टले केन्द्रिय सूचना एवं प्रसारण मन्त्री प्रकाश जावडेकरलाई ज्ञापन पनि चढ़ाएका छन्।

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here