सिलगढ़ी, 24 अगस्त : सिलगढ़ीको झङ्कार मोडस्थित एक निजी गोल्ड फाइनेन्स कम्पनीमा लुटपाटको घटनाले शहरमा तनाउ बढ़ेको छ। कम्पनीका अधिकारीहरूबाट प्राप्त जानकारीका अनुसार बदमाशहरूले लकरबाट 10 करोड़को सुन र 2.85 लाख रुपियाँ नगद लुटेर चम्पट कसेका छन्। ती अधिकारीहरूका अनुसार बदमाशहरूले 48.29 किलोग्राम सुन लुटेका छन् भने दुईजना व्यक्तिमाथि आक्रमण गरी घाइते बनाएका छन्।
डीसीपी इन्दिरा मुखर्जीले बताएअनुसार तीन-चारजना व्यक्ति झङ्कार मोड़नजिक बर्धमान रोड़स्थित वित्त कम्पनीको कार्यालयमा प्रवेश गरी बन्दुक देखाएर सुन र नगद लुटेर चम्पट कसे। यी सबै घटना सीसीटीभीमा कैद भएको छ।
मामिला जाँच डिटेक्टिभ विभागका अधिकारीहरूले गरिरहेका छन्। यद्यपि यो समाचार लेखुञ्जेलसम्म अपराधीहरूको सुइँको लाग्न सकेको थिएन। यो घटनाले शहरमा तनाउको माहोल बढ़ेको छ। विशेषगरी व्यापारीहरूले असुरक्षित महसुस गर्नथालेका छन्। त्यसै पनि केही महिनायता शहरमा आपराधिक घटनाहरू प्रतिदिन बढ़िरहेको छ।