दार्जीलिङ, 28 अगस्त : विभिन्न सामाजिक सरोकारका मुद्दाहरू उठान गर्दै आएको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) जनचेतना सङ्घर्ष समितिले बेहाल अवस्थामा रहेको पर्यटनस्थल इन्द्रेनी फल्सको मुद्दालाई उठान गरी सम्बन्धित विभाग र गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-लाई यसको कायाकल्पका लागि माग गरेको छ।
गोरामुमो जनचेतना सङ्घर्ष समितिकी अध्यक्ष मञ्जिता तामाङको नेतृत्वमा समितिको एक टोलीले बुधवार रङ्गबुलदेखि केही तल रहेको इन्द्रेनी फल्सको भ्रमण निरीक्षण गर्यो। विभागीय संरक्षण र विकासको अभावमा झार जङ्गलले ढाकेर बेहाल बनेको इन्द्रेनी फल्सको अवस्थाबारे चिन्ता प्रकट गर्दै समितिले उक्त पर्यटनस्थलको जीर्णोद्धार र समुचित रखरखाउलाई लिएर ठोस पहल गर्नुपर्ने माग राखेको हो।
यसबारे बोल्दै आज तामाङले भनिन्, “इन्द्रेनी फल्सको विकास र संरक्षण गरिएको खण्डमा पहाड़कै महत्त्वपूर्ण पर्यटनस्थलमध्ये एक हुनेछ। तर यसतर्फ पर्यटन विभागले कुनै प्रकारको ध्यान दिएको छैन।”
जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै उनले बताएअनुसार प्राकृतिक सौन्दर्यले परिपूर्ण इन्द्रेनी फल्ससम्म पुग्ने अहिले बाटो नै छैन। बाटो पूर्ण रूपले भत्किसकेको छ भने अर्कातर्फबाट खनिएको बाटो पनि आधासम्म मात्र पुगेको छ, त्यो पनि आधाकल्चो।
“सन् 2002-03 मा तत्कालीन दागोपापका तत्कालीन प्रशासक सुवास घिसिङले इन्द्रेनी फल्सलाई पर्यटनस्थलको रूपमा विकास गर्न पहल शुरु गरेका थिए। यसका लागि केन्द्रबाट 16 करोड़ रुपियाँ पनि आएको थियो”, उनले थपिन्, “तर 2007 मा पहाड़मा आन्दोलन भएपछि यो कार्य ठप्प रह्यो। पछि विमल गुरुङ जीटीएका चीफ भएपछि 16 करोड़मध्ये यहाँ 3 करोड़को मात्र कार्य भएको छ।”
उनका अनुसार इन्द्रेनी फल्स प्राकृतिक सौन्दर्यको एक अद्भूत उदाहरण हो। यसको संरक्षण र विकास गरिएको खण्डमा क्षेत्रमा पर्यटनको राम्रो विकास हुनेछ। स्थानीय मानिसहरूका लागि आय आर्जनको स्रोत पनि खुल्नेछ। उनले थप जानकारी गराएअनुसार समितिले यसबारे चाँड़ै पर्यटन विभागलाई अवगत गराउनका साथै यसको विकास र संरक्षमबारे ज्ञापन चढ़ाउनेछ।
“दार्जीलिङमा प्राकृतिक सौन्दर्यले परिपूर्ण धेरै स्थान छन्। जसलाई पर्यटनस्थलको रूपमा विकास र संरक्षण गर्न आवश्यक छ”, तामाङले थपिन्, “आज दार्जीलिङ घुम्न आउने पर्यटकहरू एक दिनभन्दा धेर दार्जीलिङ बस्न चाहँदैनन्। किनभने शहर वरिपरिका एक-दुई पर्यटनस्थलबाहेक अन्य पर्यटनस्थलहरूको विकास र संरक्षणमा विभागले कुनै ध्यान दिएको छैन।”
गोरामुमो जनचेतना सङ्घर्ष समितिकी अध्यक्ष मञ्जिला तामाङका अनुसार दार्जीलिङ घुम्न आउने पर्यटकहरूका चार-पाँच दिन दार्जीलिङमै राख्नका लागि शहरदेखि टाढ़ा टाढ़ा रहेका पर्यटनस्थलहरूको विकास र संरक्षणमा पनि विभागले विशेष ध्यान दिनपर्नेछ।
“हामी चाहन्छौं, दार्जीलिङ घुम्न आएका पर्यटन एकैदिनमा चार-पाँच दिनवटा पर्यटनस्थल घुमेर अन्यत्र नजानुन्। यहाँका सबै पर्यटनस्थलसम्म उनीहरू पुग्न सकुन्। चार-पाँच दिन दार्जीलिङमा उनीहरू बसुन्। देश-विदेशबाट दार्जीलिङ घुम्न आउने पर्यटकहरूले यहाँका सबै प्राकृतिक सौन्दर्य हेर्न सकुन्”, उनले भनिन्।
उल्लेखनीय छ, अप्पर कलेज भेल्लीस्थित उक्त प्राकृतिक झरनामा बिहानै इन्द्रेनी देखिने हुनाले पनि यसको नाम इन्द्रेनी फल्स राखिएको हो। बिहान करिब 8 बजेदेखि 10 बजेको छेउछाउसम्म झरनामा सप्तरङ्गी इन्द्रेनी देखिने गरिन्छ। जसै जसै दिन छिपिँदै जान्छ, त्यसै त्यसै इन्द्रेनी झरनाको तल्तिर झर्दै जान्छ। 10 बजे उता भने झरनाबाट इन्द्रेनी ओझेल हुन्छ।
इन्द्रेनी फल्सको समुचित विकास गर्नसकेको खण्डमा यो पहाड़कै एक महत्त्वपूर्ण पर्यटनस्थल हुने कुरामा जनचेतना सङ्घर्ष समिति मात्र होइन, तर स्थानीय मानिसहरू पनि विश्वस्त छन्। उनीहरूले पनि इन्द्रेनी फल्सको विकास र संरक्षणका लागि सम्बन्धित विभाग र जीटीएसमक्ष अनुरोध गरेका छन्।