सिलगढ़ी, २९ अगस्त: शहरको बर्धमान रोडस्थित झङ्कार मोड नजिक रहेको गोल्ड फाइनेन्समा केही दिनअघि भएको बहुचर्चित लुटपाटमा सामेल आरोपी बदमाशहरू पछिल्लो १५ दिनदेखि अप्पर बाघडुग्रास्थित एक घरको कोठा भाड़ामा लिएर बस्न शुरु गरेका थिए।
ती बदमाशहरूले आफ्नो परिचय परीक्षार्थीको रूपमा दिएको पनि खुलासा भएको छ। जानकारीका अनुसार लुटपाट एक सुनियोजित ढङ्गमा गरिएको थियो। साथै लुटपाटका लागि उत्तर प्रदेशबाट दुईजना बदमाशलाई ल्याएर राखेका थिए।
पछिल्लो १५ दिनदेखि अप्पर बाघडुग्राको गजाधर पल्लीस्थित एक घरमा कोठा भाड़ामा लिएर ती बदमाशहरू बस्दै आएको खुलासा भएपछि क्षेत्रमा सनसनी फैलिएको छ।
घरका मालिक विष्णु घोषले बताएअनुसार दुईजना बङ्गाली र अन्य दुईजना हिन्दीभाषामा कुरा गर्थे। ती चारैजनालाई पहिलो तलामा घर मालिककै फ्ल्याट छेवैमा कोठा भाड़ामा दिइएको थियो।
“म र मेरा परिवारका अन्य सदस्यहरूलाई ती युवाहरूको गतिविधिमा कहिले शङ्का नै भएन। किनभने उनीहरूको उमेर २० देखि ३० वर्षबीचको थियो। सबै दुब्लो-पात्लो थिए। यसका साथै उनीहरू कतैबाट पनि अपराधीजस्तो देखिँदैन थिए”, घोषले थपे, “सिलगढ़ीमा लुटपाट भएको दिनदेखि नै कोठा बन्द छ। मिडिया रिपोर्ट र सीसीटीभी फुटेज हेरेपछि हामीलाई शङ्का भयो। त्यसपछि हामीले बाघडुग्रा पुलिसलाई यसबारे सूचित गर्यौं।”
बुधवार अपराह्न बाघडुग्रा पुलिस उक्त कोठामा पुगेर छानबिन गर्यो। छानबिनअवधि उत्तर प्रदेशका एक व्यक्तिको आधार कार्ड प्राप्त भएको छ। घर मालिकका अनुसार कोठा भाड़ामा लिनअघि ती बदमाशहरूले उक्त आधार कार्डको फोटोकपी बुझाएका थिए। घटनापछि सिलगढ़ी पुलिसले सीबीआई टीमको मद्दतले बदमाशहरूको स्केच जारी गरेको छ।
जाँच दलमा सामेल पुलिसका वरिष्ठ अधिकारीहरूले २४ अगस्तको अपराह्न मुथुड गोल्ड फाइनेन्स भवनमा प्रवेश गर्न ती बदमाशहरू दुईवटा बाइकमा चढ़ेर आएका थिए।
सीसीटीभी फुटेजमा देखिएको नम्बरको पञ्जीकरणबारे जाँच गर्दा दुवै बाइकको नम्बर कीर्ते (नकली) रहेको थाह पाइयो। किनभने लुटपाटमा प्रयोग गरिएको बाइक पुरानो मोडलको थियो भने दुवै नम्बर प्लेट नयाँ शैलीका थिए।
बदमाशहरू बिहारबाटै दुईवटा बाइकमा चढ़ेर आएको तथा लुटपाटपछि बाघडुग्रा-घोषपुकुर-किशनगञ्ज मार्ग या बाघडुग्रा-खोरीबारी-ठाकुरगञ्ज मार्गबाट भागेको पुलिसले आशङ्का गरेको छ।
अर्कोतिर, पुलिसले बाघडुग्रावासीलाई कुनै अज्ञात व्यक्तिहरूलाई कोठा भाड़ामा दिनअघि सतर्क बस्ने तथा कुनै व्यक्तिमाथि शङ्का लागेको खण्डमा तत्कालै थानामा यसबारे सूचित गरिदिने पुलिसले अपील गरेको छ।