दार्जीलिङ, 29 अगस्त : सुकना नजिक पैनाकुमारी गाउँ जाने बाटो सेनाले बन्द गरेको विषयलाई लिएर सांसद राजु विष्टले बुधवार रक्षामन्त्री राजनाथ सिंहलाई भेट गरेका छन्।
विष्ट स्वयंले सोशल मिडियामार्फत जानकारी गराएअनुसार उक्त भेटवार्तामा उनले सुकना सेना छाउनीमा तैनाथ 33 कोरका सैनिकहरूले पैनाकुमारी गाउँ जाने बाटो बन्द गरेको विषयमा अवगत गराउनका साथै सेनाले बन्द गरेको उक्त बाटो भएर यातायात गर्नका लागि मन्त्रालयबाट अनापत्ति-पत्र प्रदान गर्ने अनुरोध गरे।
उनले उक्त बाटो वर्षौं अघिदेखि गाउँलेहरूले प्रयोग गर्दै आएको पनि जानकारी गराएको बताएका छन्। सांसद विष्टका अनुसार रक्षा मन्त्री सिंहले उल्लिखित विषयलाई संज्ञानमा लिएर उक्त मामिलाबारे विचार गर्ने आश्वासन दिएका छन्।
उल्लेखनीय छ, गत वर्षदेखि सेनाले उक्त बाटोलाई बन्द गरेको छ। बाटोलाई लिएर गाउँले र सेनाबीच त्यसबेला तनाउसमेत देखिएको थियो।