कोलकाता, ३० अगस्त :पश्चिम बङ्गाल प्रदेश भाजपा अध्यक्ष एवं सांसद दिलीप घोषमाथि हमला भएको छ। यो हमला शुक्रवार बिहानै भएको बताइएको छ। प्राप्त जानकारीका अनुसार आज बिहान घोष मर्निङ वक् र चियामा चर्चाका लागि गइरहेको बेला बीच बाटोमै केही व्यक्तिहरूले घेरेर हमला गरे।
हमला तृणमूल कार्यकर्ताहरूले गरेको आरोप उठेको छ। प्रदेश भाजपा अध्यक्ष स्वयंले पनि यो उमाथि तृणमूल कङ्ग्रेस कार्यकर्ताहरूले हमला गरेको आरोप लगाएका छन्। उनको दाबीका अनुसार हमलामा दुई भाजपा कार्यकर्ता घाइते भएका छन्।
उल्लेखनीय छ, दिलीप घोषमाथि धेरैपटक हमला भइसकेको छ। यसै वर्षको मई महिनामा पनि उनीमाथि हमला भएको थियो। त्यसबेला उनी असम भाजपाका वरिष्ठ नेता हेमन्त विश्व शर्मासँग चुनाउ प्रचारका लागि कतै गइरहेका थिए। त्यसैबेला घोषको लश्करमाथि हमला भएको थियो।
यसैगरी पछिल्लो वर्षको दिसम्बर महिनामा कोचबिहार जिल्लाको शितलकुची क्षेत्रमा घोषको गाड़ीमाथि अज्ञात मानिसहरूले हमला गरेका थिए। त्यसबेला यी भाजपा प्रदेश अध्यक्ष रथ यात्रामा भाग लिनका लागि कोचबिहार पुगेका थिए।