दार्जीलिङ, 30 अगस्त : सांसद राजु विष्टले शुक्रवार आफ्नो संसदीय क्षेत्रको रेलवेसम्बन्धी विभिन्न मुद्दालाई लिएर रेल मन्त्री पीयूष गोयललाई भेट गरे। उक्त भेटवार्तामा विष्टले दार्जीलिङको पछिल्लो भ्रमणअवधि रेलवे कर्मचारी र आम मानिसहरूले रेलवेसम्बन्धी बुझाएका ज्ञापनहरूको प्रतिलिपि पनि चढ़ाउनका साथै सम्बन्धित विषयहरूमा ठोस पहलको माग गरे। एक प्रेस विज्ञप्ति जारी गरी उनी स्वयंले यसबारे जानकारी गराएका छन्।
सांसद विष्टले बताएअनुसार रेल मन्त्री पीयूष गोयलसमक्ष उनले सेवक-रम्फू रेल परियोजनाबाट प्रभावित वनबस्तीवासीको साझा समस्या र चिन्तालाई समाधान गरिइनुपर्ने, दार्जीलिङ हिमालयन रेलवेका लागि छुट्टै डिभिजनको स्थापना, अहिले बन्द अवस्थामा रहेको खरसाङ रेलवे प्रेसलाई हेरिटेज म्युजियम र स्पेशलाइज्ड प्रिन्टिङ प्रेस बनाइनुपर्ने, दार्जीलिङ हिमालयन रेलवेमा रिक्त रहेका पदहरूमा नियुक्ति, 20 वर्षभन्दा अधिक समयदेखि अस्थायी कर्मचारीको रूपमा कार्य आएका कर्मचारीहरूलाई स्थायीकरण गरिनुपर्ने, रेलवे प्रशिक्षण पूरा गरेकाहरूलाई कर्मचारीको रूपमा नियुक्त गरिनुपर्ने, सुकनानजिक गुलमा स्टेशनदेखि कोलकातासम्म नयाँ रेल शुरु गरिनुपर्ने, बाघडुग्रा, नक्सलबारी र चोपड़ामा कोलकाता, दिल्ली र भारतका अन्य स्थानका लागि रेल बिसौनी, न्यु जलपाइगढ़ी रेलवे स्टेशनको आधुनिकीकरण, बाग्राकोट, सेवक र एनटीएस मोड़स्थित रेलवे क्रसिङमा फ्लाइओभर नभए अन्डरपासको निर्माण आदिको माग गरे।
उक्त भेटवार्ताअवधि आफूले दार्जीलिङ र कालेबुङ जिल्लाका वनबस्तीहरूमा वनाधिकार अधिनियम- 2006 अझै लागू नभएको कारण यी दुवै जिल्लाका वनबस्तीवासीले भोगिरहेको समस्याबारे पनि अवगत गराएको पनि उनले बताएका छन्। सांसद विष्टले बताएअनुसार रेलमन्त्रीले रेल मन्त्रालय अधीनस्थ सम्बन्धित विभागहरूसँग यी मुद्दाहरूबारे चर्चा गर्ने र आवश्यक कार्यका लागि पठाउने आश्वासन दिएका छन्।