दार्जीलिङ, ३० अगस्त : दार्जीलिङका चियाश्रमिकहरूको पूजा बोनसलाई लिएर दार्जीलिङ टी एसोसिएशनमा बसिएको बैठक विफल बनेको छ। मालिकपक्षले केवल ८.३३ प्रतिशतको दरमा पूजा बोनस दिने बताएपछि बैठक विफल बनेको हो। पहाड़का सबै श्रमिक सङ्गठन यसपालि २० प्रतिशतको दरमा बोनस दिइनुपर्ने माग अडिग रहेका थिए।
बैठक दुई घण्टाभन्दा केही अधिक चलेको बताइएको छ। यद्यपि यो बैठक पहिलो चरणको बैठक थियो। पूजा बोनस हत्तपत्त पहिलो बैठकमा छिनोफानो भइहाल्दैन। बैठक विफल बनेपछि भोलिदेखि विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-को श्रमिक सङ्गठन दार्जीलिङ, तराई, डुवर्स प्लाण्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-ले पहाड़का सबै चियाकमानमा २० प्रतिशत दरको बोनस माग्दै पोस्टरिङ गर्ने भएको छ।
“आजको बैठकमा मालिकपक्षले केवल ८.३३ प्रतिशतको दरले बोनस दिने कुरामा सहमति देखायो। तर, हामीले ८.३३ प्रतिशतको बोनसलाई स्वीकार गरेनौं। यसपालि २० प्रतिशतको दरले बोनस दिनुपर्ने हाम्रो माग छ”, डीटीडीपीएलयूका कार्यकारी अध्यक्ष जेबी तामाङले भने।
उनका अनुसार पछिल्लो वर्ष २०१७ को गोर्खाल्याण्ड आन्दोलनअवधि भएको १०४ दिने बन्दलाई देखाएर केवल १५ प्रतिशत बोनस दिएको थियो। “यसपालि पहाड़मा कुनै बाधा भएन। चियाकमानहरू सधैँ खुला रहे। मालिकपक्षले यसपालि कसरी नोक्सान भएको कुरा गर्नसक्छ”, तामाङले थपे, “हामी भोलिदेखि २० प्रतिशत बोनसको माग गर्दै पहाड़का चियाकमानहरूमा पोस्टरिङ गर्नेछौं।”
अर्कोतिर जोइन्ट फोरमका प्रवक्ता सुनिल राईले पनि यसपालि पहाड़का चियाश्रमिकहरूलाई मालिकपक्षले २० प्रतिशतको दरले बोनस दिनुपर्ने मागलाई दोहोऱ्याउँदै २० प्रतिशतभन्दा एकै प्रतिशत तलको बोनस पनि स्वीकार नगर्ने स्पष्ट पारे। “मालिकपक्षले जहिल्यै विभिन्न बहाना देखाएर बोनस दर घटाउने कोशिश गरिरहन्छ। यसपटक पनि यस्तै कोशिश गरिरहेको छ। तर, हामी एकबद्ध छौं। यसपालि चियाश्रमिकहरूलाई २० प्रतिशतकै दरले बोनस दिइनुपर्छ”, राईले भने।