असम एनआरसी : छुटिए करिब एक लाख गोर्खा

0
1801

दार्जीलिङ, १ सेप्टेम्बर : राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी)-बाट छुटेका १९,६, ६५७ नागरिकमध्ये एक लाखभन्दा बढ़ी गोर्खा रहेको भारतीय गोर्खा परिसङ्घ (भागोप)-का असम राज्य कमिटी अध्यक्ष नित्यानन्द उपाध्यक्ष बताएका छन्। यद्यपि कति नेपालीभाषी गोर्खा एनआरसीबाट छुटिए त भन्नेबारे अहिले नै सङ्ख्या किटान गरेर भन्न नसकिने उनको छ।

‘हामी सोधीखोजी गरी छुटेका गोर्खाहरूको सङ्ख्या सङ्ग्रह गर्ने काम गरिरहेका छौं’, उपाध्यायले थपे, ‘अहिलेसम्मको रिपोर्टका आधारमा करिब करिब ८० हजार गोर्खा छुटेका छन्। तर, यो सङ्ख्या बढ़ेर १ लाखको छेउछाउ पुग्नसक्ने अनुमान छ।’

उनका अनुसार एनआरसीमा छुट्ने गोर्खाहरूको सङ्ख्या अझ धेरै घट्नसक्ने सम्भावना छ। ‘शुरुमा यो सङ्ख्या करिब ४ लाख थियो। अहिले घटेर १ लाखको छेउछाउ आएको छ’, भागोप असम राज्य अध्यक्षले भने।

उपाध्यायका अनुसार असमका २५ देखि ३० हजार गोर्खासँग आवश्यकीय दस्तावेज छैन। अन्य छुटेकाहरूको भने दस्तावेज रहेकोले एनआरसीमा नपर्ने गोर्खाहरूको सङ्ख्या थप घट्ने उनको भनाइ थियो।

स्मरणरहोस्, डि भोटर (डाउटफुल भोटर)-मा परेका असमका २० हजार गोर्खाको नाम एनआरसीमा नपरेकोले पनि छुट्ने गोर्खाहरूको सङ्ख्या करिब १ लाख पुगेको हो।

डि-भोटरबारे अहिले सुनवाइ चलिरहेको छ। सुनवाइ पूरा भएर ती २० हजार गोर्खाहरूमाथि लागेको डि-भोटेर हटेपछि उनीहरूको नाम एनआरसीमा पर्ने कुरामा उपाध्यायहरू विश्वस्त छन्।

डि-भोटरमै नाम परेको कारण भारतका स्वाधीन सङ्ग्रामी एवं असम प्रदेश कङ्ग्रेस कमिटीका संस्थापक छविलाल उपाध्यायकी नातिनी मञ्जु देवीको नाम पनि एनआरसीमा परेको छैन।

उनी मात्र होइन, उनका दुई नानीको नाम पनि एनआरसीमा आएन। ‘५-६ पटक भेरिफिकेशन हुँदा पनि मेरो नाम किन एनआरसीमा परेन भन्ने कुराले म अचम्भित बनेकी छु’, आइतवार जनसंवादसँग बोल्दै थपिन्, ‘मेरा श्रीमानको नाम आयो। मेरा माइतका सबैको नाम आयो। तर, मेरो र मेरा नानीहरूको मात्र नाम एनआरसीमा परेन।’

मञ्जु देवीका अनुसार डि-भोटरमा परेकै कारण उनको नाम एनआरसीबाट छुटेको हो। यद्यपि उनी एनआरसीमा पर्ने कुरामा ढुक्क छिन्।

‘मसित सबै दस्तावेज छन्। एनआरसीमा नाम पर्दैन भन्ने डर होइन’, उनले थपिन्, ‘तर, भेरिफिकेशनका लागि यता र उता दौड़िदा दौड़िदा शास्ति भइसक्यो।’

शनिवार जारी एनआरसीको फाइनल सूचीमा आफ्नो नाम नभेटेपछि मञ्जु देवी केही आक्रोशित बनेकी थिइन्। ‘के हामी बङ्ग्लादेशी हौं’,  उनले प्रश्न गरिन्।

आफ्नो नाम होइन, तर दुई नानीको नाम एनआरसीमा नआएपछि उनी अझ दुखित बनेकी छन्।

‘एनआरसीमा बावुको नाम छ। तर, दुई नानीको नाम छैन। योभन्दा उदेकपूर्ण कुरा अर्को के हुनसक्छ र?’, मञ्जु देवीले भनिन्, ‘इमानदारपूर्वक भन्नपर्दा एनआरसीका लागि आजसम्म मैले जुन समस्या भोगे, त्यसबाट आजित भइसकेकी छु। मलाई न्याय चाहियो।’ भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय कार्यकारी अध्यक्ष डा. मुनिष तामाङले यसप्रति खेद प्रकट गरेका छन्।

‘स्वाधीनता सङ्ग्रामी एवं असम प्रदेश कङ्ग्रेस कमिटीका संस्थापक छविलाल उपाध्यायकी नातिनीको नाम एनआरसीमा नाम नपर्नु अत्यन्त दुर्भाग्यपूर्ण कुरा हो।’

तामाङका अनुसार एनआरसीमा नाम नपरेका गोर्खाहरूलाई भागोपले सहायता प्रदान गर्नेछ। ‘हामी असमका ती गोर्खाहरूको पक्षमा छौं, जो एनआरसीबाट छुटे’, उनले थपे, ‘भागोपले उनीहरूका लागि काम गर्नेछ।’

अर्कोतिर असम गोर्खा स्टुडेन्ट युनियन (आग्सु)-का अध्यक्ष प्रेम तामाङले पनि करिब १ लाख गोर्खाको नाम एनआरसीमा नपरेको बताए। ‘हामीले मानिसहरूसँग जोगाजोग गरिरहेका छौं। अहिले नै यति सङ्ख्यामा गोर्खाहरू छुटे भनिहाल्न मिल्दैन। तर, प्रारम्भिक अनुमानका आधारमा करिब १ लाख गोर्खाको एनआरसीमा नपरेको हुनसक्छ’, उनले भने।

थोरैभन्दा थोरै गोर्खाहरू मात्र एनआरसीमा नपर्ने तामाङको भनाइ छ। ‘जसको पक्का दस्तावेज छैन, उनीहरू त एनआरसीबाट छुट्ने नै हुन्। तर, पक्का दस्तावेज भएका गोर्खाहरू पनि कतिपय कारणले छुटेका छन्’, आग्सु अध्यक्षले थपे, ‘पक्का दस्तावेज भएकाहरूलाई एनआरसीमा अनर्भुक्ति गर्न हामीले काम गरिरहेका छौं। छुटेकाहरूले अझै आवेदन गर्नसक्छन्। हामीलाई आशा छ, दस्तावेज नै नभएका गोर्खा मात्र एनआरसीबाट छुट्नेछन्। र, उनीहरूको सङ्ख्या थोरै हुनेछन्।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here