सिलगढ़ी, 2 सेप्टेम्बर : कारगिल युद्धमा देशका लागि प्राणको आहुति दिने वीर शहीद सुरेश छेत्रीको सालिकलाई अवहेलना गरिएको छ। सालिक ठीक अघिल्तिर ठूलो होर्डिङ लगाइएको छ, जसको कारण शहीद छेत्रीका परिवार र केही सामाजिक सङ्गठनले तीखो शब्दमा आपत्ति जनाएका छन्।
वास्तवमा देशका लागि प्राणको बलिदान दिने शहीदको सालिकअघि यसरी होर्डिङ लगाइनु गैर जिम्मेवारी कार्यसँगै देशकै अपमान गर्नुजस्तै हो।
शहीद सुरेश छेत्रीका छोरो नेत्र राज छेत्रीले भने, ‘‘बाबाको सालिक अघि ठूलो होर्दिङ देख्दा अत्यधिक दुःख लाग्छ। के यो कारगिल युद्धमा देशका लागि आफ्नो प्राणको बलिदान दिने शहीदलाई दिएको सम्मान हो?’’
होर्डिङलाई लिएर उनले तीखो शब्दमा आपत्ति जनाएका छन्। सालिकको ठीक अघिल्तिर रहेको उक्त होर्डिङसम्बन्धमा धेरै नेता तथा स्थानीय प्रशासनलाई व्यक्तिगत रूपमा सूचित गरेको तर, पछिल्लो एक वर्षदेखि कुनै पदक्षेप नउठाइएको नेत्र राज छेत्रीले बताएका छन्।
शहीद छेत्रीकी पत्नी मञ्जु छेत्रीले भनिन्, ‘‘सालिक हामीले हाम्रै खर्चमा बनाएका हौं। सरकारबाट एक रुपियाँ पनि सहयोग प्राप्त भएन। मेरा पतिको सालिकअघि व्यावसायिक होर्डिङ देख्दा माइनस डिग्रीको तापमानमा १७००० फुटमाथि देश बचाउन दुश्मनसँग लड़ाइँ गर्ने र देशकै सुरक्षाका खातिर शहीद हुने मानिसहरूप्रति कुनै सम्मान नरहेको अहिले मलाई लागिरहेको छ।’’
यसैबीच, सामाजिक सङ्गठन पाथमेकर शहीद परिवारको पक्षमा उभिएको छ। उक्त सामाजिक सङ्गठनले शहीद सुरेश छेत्रीको सालिकअघि रहेको व्यावसायिक होर्डिङलाई हटाउनका लागि पहल गर्ने निर्णय गरेको छ।
पाथमेकरका सहायक सचिव सिख कुँवरले भने, ‘‘यसरी सालिकअघि विशाल होर्डिङ लगाइनु देशका लागि प्राणको आहुति दिने वीर गोर्खा सैनिक सुरेश छेत्रीप्रति ठूलो अपमान गरिनु हो। प्रशासन यस्तो गैरकानुनी कार्यमाथि किन आँखा चिम्लेर बसेको हो?’’
अर्कोतिर, नक्लसबारी ग्राम पञ्चायतका प्रधान अरुण घोषले उक्त होर्डिङ पञ्चायतलाई जानकारी नदिई लगाइएको थियो। ‘‘यस्तो गरिनु गैरकानुनी हो। हामी होर्डिङ हटाउनका लागि तत्कालै कारबाही गर्नेछौं’’, उनले भने। नक्सलबारीनिवासी २ नागा रेजिमेण्टका सुरेश छेत्री कारगिल युद्धमा शहीद भएका थिए।