विनयलाई नीरजको चुनौती, ‘असमका एकैजना खाँटी गोर्खा पनि एनआरसीबाट छुटे नागरिकता त्याग्नेछु’

0
1612
भाजपा विधायक नीरज जिम्बा (फाइल फोटो)।

दार्जीलिङ, 3 सेप्टेम्बर : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको लहैलहैमा लागेर गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङ र महासचिव अनित थापाले एनआरसी सम्बन्धमा मुखमा जे आयो त्यै बोलिरहेको दार्जीलिङका विधायक नीरज जिम्बाले बताएका छन्।

उनले यस्तो प्रतिक्रिया विनय तामाङको बयानको सम्बन्धमा दिएका हुन्। स्मरण रहोस्, मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गरी तामाङले जिम्बाहरूले एनआरसी सम्बन्धमा लगातार झूट बोलिरहेको र भाजपालाई बचाउने कार्य गरिरहेको आरोप लगाएका थिए।

जिम्बाका अनुसार विनय तामाङहरूलाई गोर्खाको समबन्धमा बोल्ने कुनै नैतिक अधिकार छैन। ममता सरकारलाई फाइदा पुऱ्याउनका लागि जुनै मुद्दामा पनि भाजपालाई तारो बनाएर ‘बकबक’ गरिरहने विनय तामाङहरूको कुरालाई पहाड़का जनताले अब पत्याउनेछैन।

‘2017 गोर्खाको सपना, माटो र मुद्दा धोकापूर्ण तरिकामा बेचेर ममता सरकारको आशीर्वादमा बाँचेका गोजमुमो डुप्लिकेटका नेताहरूलाई असमका गोर्खाहरूको समस्यामा बोल्न सुहाउँदैन’, जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै उनले भने, ‘असमको वस्तुस्थिति र त्यहाँका गोर्खाहरू दुःख कष्ट विनय तामाङहरूलाई थाह छैन। विनय-अनितले एनआरसीमाथि बोल्नु भनेको बाँच्ने उपाय खोज्नुजस्तो मात्र हो। अहिले कुन आधारमा विनय तामाङ दिल्ली जान्छु भन्दैछन्?’

उनले थप भनेका छन्, ‘विनय तामाङहरू अहिले मुद्दाविहीन बनेका छन्। उनीहरू जनताका अघि नाङ्गिएका छन्। यसैले राज्य सरकारले अह्राएका कार्यहरूबाहेक उनीहरूको आफ्नो कार्य छैन। आफूलाई गोर्खाका नेतृत्व ठान्नु र असमका गोर्खाहरूलाई न्याय दिलाउन पहाड़बाट आन्दोलन शुरु गर्छु भन्नु हास्यास्पद कुरा हो। असमका लागि गर्ने भनेको आन्दोलन पनि विनयहरूले बेचेर खाँदैन भन्न सकिन्न। किनभने उनीहरूले 2017 मा सम्पूर्ण गोर्खालाई धोका दिँदै गोर्खाल्याण्डको आन्दोलन बेचेर खाइसकेका छन्।’

दार्जीलिङ यी भाजपा विधायकले बताएअनुसार चाँड़ै दार्जीलिङका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको एक शीर्ष मण्डल दिल्ली गई गृहमन्त्रालयसँग असममा खाँटी गोर्खाहरू एनआरसीबाट छुटेको सम्बन्धमा जानकारी लिनेछ।

‘विनय तामाङले भनेजस्तो एनआरसी सम्बन्धमा मैले कुनै झूट बोलेको छुइनँ’, जिम्बाले थपे, ‘असमका एकैजना खाँटी गोर्खा नागरिक एनआरसीबाट छुटेको खण्डमा भारतीय नागरिकता ऐनको धारा 8 अन्तर्गत म आफ्नो नागरिकता त्याग गर्नेछु।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here