दार्जीलिङ, 3 सेप्टेम्बर : दार्जीलिङ पहाड़का विभिन्न श्रमिक सङ्गठनले यसपालि पहाड़का चियाश्रमिकहरूलाई 20 प्रतिशतको दरले बोनस दिने माग गरिरहे तापनि पहाड़का चियाश्रमिकहरूलाई केवल 8.33 प्रतिशतको दरले बोनस दिन मालिकपक्ष सक्षम रहेको दार्जीलिङ टी एसोसिएशनका प्रमुख सल्लाहकार सन्दीप मुखर्जीले मङ्गलवार बताएका छन्।
मुखर्जीका अनुसार वर्तमान समयमा चियाकमानको अवस्था सोचनीय रहेकोले 8.33 प्रतिशतभन्दा बढ़ी प्रतिशतको दरले पूजा बोनस दिन मालिकपक्ष सक्षम छैन। डीटीए दार्जीलिङका अधिकांश चियाकमानको मालिकपक्षको सङ्गठन हो। उनका अनुसार प्रतिवर्ष पहाड़का चियाकमानहरूको उत्पादन घट्दै गएको छ। निर्यातमा कमी आएको छ।
“1995 सालसम्म दार्जीलिङ पहाड़का चियाकमानहरूको वार्षिक चिया उत्पादन कुल 14 मिलियन किलोग्राम थियो। तर, यो उत्पादन घटेर 2018-मा केवल साढ़े सात मिलियन किलोग्राम भएको छ”, उनले थपे, “2017 -मा बन्दले गर्दा वार्षिक उत्पादन केवल 3 मिलियन किलोग्राम भएको थियो।”
मुखर्जीले दार्जीलिङमा सबैभन्दा ठूलो उद्योगको रूपमा रहेको चिया उद्योगलाई बचाउन राज्य र सरकार दुवै सरकारबाट कुनै प्रकारको सहयोग प्राप्त नभएको पनि बताएका छन्।
उनका अनुसार पहाड़का चियाकमानहरूमा करिब 80,000 श्रमिक र उनीहरूका परिवार आश्रित छन्। तर, यसतर्फ राज्य र केन्द्र दुवैले कुनै ध्यान दिएन। डीटीएका यी मुख्य सल्लाहकारले चियाको उत्पादन र निर्यात मात्र होइन। तर, पहाड़का प्रत्येक चियाकमानमा दैनिक रूपमा आवश्यकताभन्दा 50 प्रतिशत कम श्रमिक काममा आइरहेको बताए।
“वर्षभरिमा 60-65 प्रतिशत दार्जीलिङको चिया निर्यात हुन्छ। तर, 2018-मा यो निर्यात 22 प्रतिशत घटेको छ”, उनले भनेका छन्। नेपालका चियाकमान निर्यात हुनथालेपछि दार्जीलिङको चियाको निर्यात यसरी 22 प्रतिशत घटेको मुखर्जीको दाबी छ। उनको थप दाबीका अनुसार यो वर्ष पनि दार्जीलिङ चियाको उत्पादन 22 प्रतिशत नै घटेको छ।
“एकातिर चिया उत्पादन 6.50 मिलियन केजी घटेको छ भने अर्कोतिर निर्यात 22 प्रतिशत घटेको छ। यस्तो अवस्थामा 20 प्रतिशतको दरमा बोनस कुनै पनि अवस्थामा दिन सक्षम छैन”, उनले थपे, “कानुनी रूपमा हामीले 8.33 प्रतिशत दियौं भने राज्य र केन्द्र कुनै पनि सरकारले हामीले गैरकानुनी भन्न सक्नेछैनन्। किनभने हामी 20 प्रतिशत बोनस दिन कानूनभित्रै सक्षम छैनौं। त्यसैले दिन पनि सक्दैनौं। कारण हाम्रो समस्यामा सहयोग गर्नका लागि कोही पनि अघि आएनन्। यो पालि मात्र होइन। तर, यस्तै परिस्थित रहिरहेको खण्डमा आगामी एक-दुई वर्ष चियाउद्योग यसरी नै चल्नसक्छ।”
यसअवसरमा उनले गेट मिटिङ, धरना र पोस्टरिङ गर्ने श्रमिक सङ्गठनका कार्यहरूले चियाउद्योगलाई थप मर्का परेको पनि बताउँदै श्रमिक सङ्गठनहरू यस्ता धरना कार्यक्रमहरू नगरिदिने मालिकपक्षको तर्फबाट अनुरोधसमेत गरेका छन्।
“श्रमिक सङ्गठनहरूले चियाकमानको परिस्थिति अझ जटिल बनाउने काम गर्दैछन्”, मुखर्जीले थपे, “कानून-व्यवस्थामा समस्या सिर्जना भए चियाकमानका मालिकहरूलाई अझ समस्या हुनेछ।”
उनले चियाउद्योग कृषि मन्त्रालयअन्तर्गत पर्ने भए तापनि सरकारलाई यसलाई वाणिज्य उद्योगमा राखेको तथा सरकारबाट कुनै पनि सहयोग प्राप्त नभएको दाबी गरेका छन्। मालिकपक्ष यसपालि 8.33 प्रतिशतभन्दा बढ़ी प्रतिशतको बोनस दिन असक्षम रहे दाबी गरे तापनि बोनस विषय श्रमिक सङ्गठनहरूसँग बैठक भने जारी रहने बताएका छन्। उनका अनुसार यसै साताभित्र दोस्रो चरणको बैठक हुनसक्ने जनाए।
उल्लेखनीय छ, पछिल्लो वर्ष पहाड़का चियामालिकहरूले श्रमिकहरूलाई 15 प्रतिशतको दरमा पूजा बोनस दिएका थिए। त्यसबेला 20 प्रतिशतको बोनस माग गरिरहेका चियाश्रमिकहरूलाई सम्झौतामा ल्याउन मालिकपक्षले 104 दिने बन्दलाई हतियारको रूपमा प्रयोग गरेका थिए।
यसपालि मालिकपक्षले चिया उत्पादन र निर्यातमा आएको ह्रास देखाएर बोनसको दर घटाउने कोशिश गरिरहेको छ। किनभने यसपटक पहाड़का चियाकमान सुचारू चलेको छ।
स्मरणरहोस्, केही दिनअघि सम्पन्न पहिलो चरणको बोनस बैठक विफल बनेको थियो। उक्त बैठकमा श्रमिक सङ्गठनहरू 20 प्रतिशतमा अडिग रहे भने मालिकपक्षले 8.33 प्रतिशतको रट् लगाएको थियो। त्यसैले पनि बोनस बैठक विफल बनेको थियो। हुन त बोनस बैठक पहिलो चरणमा नै हत्तपत्त मिल्दैन। दुई-तीन बैठकपछि मात्र सधैँ बोनस दर छिनोफानो हुने गरेको छ।