२० प्रतिशतभन्दा तलको बोनस हामी थाप्ने छैनौं : जोइन्ट फोरम

0
1237

दार्जीलिङ, ४  सेप्टेम्बर : २० प्रतिशतभन्दा कम्तीको बोनस नथाप्ने जोइन्ट फोरमले स्पष्ट पारेको छ। ‘डीटीएले जे सुकै भनोस्, हामी मान्दैनौं’, सुनिल राईले थपे, ‘जहिल्यै मालिकपक्षले बोनस दर घटाउन बहाना बनाउने गर्छ। यसपालि मात्र प्रतिवर्ष नै डीटीएले ८.३३ प्रतिशतको दरमा बोनस दिनसक्ने  बाध्यता देखाउनेगर्छ।’

राई जोइन्ट फोरम हिल सब कमिटीका प्रवक्ता हुन्। उनका अनुसार केही दिनअघि बसिएको पहिलो बैठकमा नै दार्जीलिङ टी एसोसिएशन (डीटीए)-ले ८.३३ प्रतिशत दरमा यसपालि बोनस दिनसक्ने बताएको थियो।

पहिलो बैठक विफल हुनुको कारण पनि ८.३३ प्रतिशत नै थियो। किनभने यसपालि चियाश्रमिकहरूलाई २० प्रतिशत दरमा बोनस दिनुपर्ने मागमा सबै श्रमिक सङ्गठन एकजुट छन्।

‘बरू दशैं मान्ने छैनौं। तर, २० प्रतिशतभन्दा कम्ती दरको बोनस थाप्दैनौं’, जनसंवादसँग टेलिफोनिक कुराकानीवधि उनले थपे, ‘हामी हाम्रो मागमा अडिग छौं। कुनै पनि अवस्थामा योभन्दा कम्ती दरको बोनसमा सम्झौता गर्ने छैनौं।’

राईका अनुसार डीटीएले ८.३३ प्रतिशत दिनका लागि जुन कारण देखाइरहेको छ, ती सबै झूटा हुन्। ‘दोस्रो चरणको बैठकमा हामी २० प्रतिशत बोनसकै माग राख्नेछौं। योभन्दा तल ठ्याम्मै झर्ने छैनौं। किनभने चियाश्रमिकहरूमाथि हामी अन्याय हुन दिनेछैनौं।’, उनले भने।

उल्लेखनीय छ, मङ्गलवार दार्जीलिङमा पत्रकारहरूसँग कुराकानी गर्दै डीटीएका प्रमुख सल्लाहकार सन्दीप मुखर्जीले चियाको उत्पादन र निर्यात घटेकोले यसपालि मालिकपक्षले चियाश्रमिकहरूलाई ८.३३ प्रतिशतभन्दा बढ़ीको बोनस दिन सक्षम नरहेको बताएका थिए। यसका साथै मुखर्जीले श्रमिक सङ्गठनहरूले चियाकमानहरूमा गरिरहेका गेटसभा, धरना र पोस्टरिङजस्ता कार्यक्रमले अझ चियाउद्योगलाई जटिल समस्यामा पारेको दाबी गरेका थिए।

अर्कोतिर जनआन्दोलन पार्टीका ब्युरो सदस्य एवं जोइन्ट फोरमका सदस्य अमर लामाले पनि डीटीएका मुख्य सल्लाहकार मुखर्जीको बयानलाई ‘बहानाबाहेक अर्थोक केही नरहेको’ बताएका छन्।

‘यसपालि उत्पादन र निर्यात घट्यो, मालिकहरू नोक्सानीमा पऱ्यो भन्ने कुरा पत्याउन लायकको कुरा होइन’, लामाले दाबी गरे, ‘यसपालि उत्पादन र निर्यात मात्र होइन, तर दार्जीलिङ चियाको अन्तर्राष्ट्रिय बजारमा मूल्य पनि बढ़ेको छ।’

उनले थप भने, ‘२०१७ –को आन्दोलनमा १०४ दिन बन्द भएर उत्पादन र निर्यात दुवै घट्दा पनि २०१८ को दशैंमा १५ प्रतिशत बोनस दिनसक्ने मालिकवर्गले यसपालि किन ८.३३ प्रतिशत मात्र बोनस दिने कुरा गर्दैछ? यसपालि  चियाकमान एकै दिन पनि बन्द भएन। कमान सुचारू चलिरहेको छ। कुनै बाधा आएको छैन। यसैले उत्पादन र निर्यात घट्यो भन्नु सोझै ढाँट्नु हो। हामी २० प्रतिशतभन्दा कम्तीको बोनस स्वीकार गर्दैनौं।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here