विनयमाथि विष्टको कटाक्ष, ‘आफ्नै बूथमा हार्ने विनय तामाङको कुरा कसले सुन्छ’

0
1450
बिहीवार बाघडुग्रा हवाईअड्डा आइपुगेका राजु विष्ट।

सिलगढ़ी, 5 सेप्टेम्बर : बिहीवार आफ्नो निर्वाचन क्षेत्र आइपुगेका सांसद राजु विष्टले राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-लाई लिएर गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङमाथि कटाक्ष गरेका छन्।

“दार्जीलिङमा विनय तामाङको कुनै अहिलेघरी कसैले सुन्दैनन्। दुईवटा चुनाउ नराम्रो घतले हार्ने विनय तामाङको कुनै जनाधार नै छैन”, आज सिलगढ़ीमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले थपे, “गैर-कानुनी ढङ्गले जीटीएमा बसेका छन्। अहिले पनि उनले (विनय तामाङ)-ले ममता दिदीको चाप्लुसी गरिरहेका छन्।”

विष्टका अनुसार एनआरसीबारे विनय तामाङले बोलेर केही फरक पर्दैन। विनयले भन्दा केही पनि हुँदैन। यी भाजपा सांसदले थपे, “विनय तामाङको कुरालाई दार्जीलिङ पहाड़का एक प्रतिशत जनताले पनि गम्भीरतासँग लिदैनन्।”

गोजमुमो दोस्रो खेमाका अध्यक्षमाथि दार्जीलिङका सांसद आक्रामक देखिए। “जसले आफ्नै बूथ त जित्न सक्दैनन्, त्यस्ता व्यक्तिको कुनै जनाधार हुन्छ? कसले त्यस्ता व्यक्तिलाई सुन्छ”, विष्टले गम्भीर आरोप लगाए, “विनय तामाङले गोर्खा भएरै गोर्खामाथि जति अत्याचार गरेका छन्, त्यति अन्याय-अत्याचार आजसम्म अरू कसैले गरेका छैनन्। अहिले पनि उनी ममता ब्यानर्जीको ‘लेफ्ट-राइट’ हिँड़्छन्। आज  गोर्खा समाजले विनय तामाङलाई कदापि सहन गर्दैन।”

अर्कोतिर, विनय तामाङले अहिलेघरी पहाड़मा एनआरसी लागू हुनु दिन्न भनेर भ्रम फैलाइरहेको तथा पहाड़का जनता पनि एनआरसीको पक्षमा रहेको दाबी गरे।

“यदि एनआरसी लागू भए पहाड़मा गोर्खा सबैभन्दा सुरक्षित हुनेछन्। गोर्खा मात्र किन यहाँका आदिवासी, राजवंशी, कोचे, मेचे, टोटो आदि मूलवासीका लागि एनआरसी लागू भएको सबैभन्दा राम्रो हो”, उनले थपे।

विष्टले थपे, “तृणमूल सरकारकै कारण गोर्खा बङ्गाल सुरक्षित छैनन्।” उनको दाबीका अनुसार आफ्नो जमिनका कागज पत्र नभएका दार्जीलिङ-कालेबुङ, तराई-डुवर्समा बस्ने सबै मानिसलाई एनआरसीले पनि सुरक्षा दिनेछ।

यसअवसरमा उनले तृणमूल सरकारले वनाधिकार अधिनियम 2006 पहाड़मा लागू नै नगरेको पनि बताए। त्यस्तै चियाकमान र सिन्कोना बगानमा बस्ने पनि जमिनको पर्जापट्टा नभएको उल्लेख गरे। सांसदको आरोपका अनुसार यी सबै तृणमूल सरकारकै कारण भएको हो।

“तृणमूल सरकार आज पूर्ण रूपले विफल बनेको छ। कानून-व्यवस्था बेकार छ। पुलिसी अत्याचार चरममा छ। शिक्षा व्यवस्था र शैक्षिक संस्थानहरू खत्तम बनाएको छ। स्वास्थ्य सेवाको कुनै राम्रो सुविधा नै छैन”, सांसद राजु विष्टले थपे, “बङ्गाल आज ऋणमा डुबेको छ। 34 वर्ष माकपाले शासन गर्दा एक लाख 90 हजार करोड़ छेउछाउ ऋण थियो। तर, आज तृणमूल सरकारको 8 वर्षको शासनमा यो ऋण बढ़ेर 4 लाख करोड़भन्दा धेरै ऋण भएको छ।”

यति धेरै पैसा विकासका लागि नखर्चेर तृणमूल नेताहरूले भ्रष्टाचार गरेरै सकेको आरोप लगाउने उनले भाजपा सरकार सत्तामा आए मात्र विकास सम्भव रहेको दाबी गरे। विष्टका आरोपका अनुसार राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले रोहिङ्ग्या र बङ्ग्लादेशी नागरिक बचाउनका लागि एनआरसीको विरोध गरिरहेकी छन्। अर्कोतिर, विष्टले एनआरसी लागू भए, एकैजना खाँटी गोर्खा नछुटे दाबी गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here