अचल रहेका तीनवटा चियाकमान आधिकारिक बन्द, सरकारले फौलाइको पैसा दिने

0
1071
पेशोक चियाकमान।

दार्जीलिङ, 5 सेप्टेम्बर : पछिल्लो 5 वर्षदेखि अचल अवस्थामा रहेको दार्जीलिङ पहाड़का तीनवटा चियाकमान आधिकारिक रूपले बन्द घोषित गरिएको छ। राज्य सरकारले बुधवार राति बन्द घोषित गरिएका यी तीन चियाकमान क्रमैले पेशोक, धोत्रे र कलेज भेल्ली हुन्।

यस्तो निर्णयबारे श्रम विभागले जानकारी गराएको गोर्खा जनमुक्ति मोर्चाको श्रमिक सङ्गठन दार्जीलिङ, तराई, डुवर्स प्लाण्टेशन लेबर युनियन (डीटीडीपीएलयू)- अध्यक्ष करुणा गुरुङ र महासचिव भरत ठकुरीले बताएका छन्।

यी तीनवटा चियाकमानलाई आधिकारिक रूपमा बन्द घोषणा गर्नका साथै यी चियाकमानका श्रमिकहरूलाई मई  2018-देखि अक्टोबर 2019-सम्मको मासिक 15,00 रुपियाँ गरी फौलाइको पैसा पनि दिने सरकारले तय गरेको उनीहरूको भनाइ छ।

यस हिसाबका अनुसार यी तीनवटा चियाकमानका एकजना श्रमिकले 17 महिनाको कुल फौलाइ राशि पच्चीस हजार रुपियाँ पाउने निश्चित भएको छ। जसका लागि डीटीडीपीएलयूले यी तीनवटै चियाकमानका सबै श्रमिकलाई आफ्नो कागज-पत्र तयार पारेर राख्ने पनि सुझाएको छ।

डीटीडीपीएलयूका अनुसार बन्द घोषित गरिएका कुल 2,566 श्रमिक छन्। जसमध्ये धोत्रेमा 1,354, कलेजभेल्लीमा 642 र पेशोकमा 570 श्रमिक सामेल छन्। डीटीडीपीएलयूले अब यी तीनवटा चियाकमान कुनै पनि नयाँ कम्पनीले किन्न सक्ने बाटो पनि खुल्ला भएको पनि बताएको छ। साथै यसमा गोजमुमोको श्रमिक सङ्गठनले खुशी व्यक्त गरेको छ। युनियनकी अध्यक्षा करुणा गुरूङले भनिन्, “गोर्खा जनमुक्ति मोर्चा, डीटीडीपीएलयू यी तीनवटा चियाकगान नयाँ कम्पनीको हातमा जाओस् अनि यी तीनैवटा चियाकमन पुनः सुचारू रूपले सञ्चालन होस् भनेर लगातार सरकार साथै सम्बन्धित निकायहरूको सम्पर्कमा थियो। जसको परिणामस्वरूप हिजो सरकारले यी तीनवटा चियाकमानलाई आधिकारिक रूपमा बन्द घोषणा गरेको छ। अब यी तीनवटा चियाकमान कुनै पनि नयाँ कम्पनीले लिनसक्ने बाटो खुल्ला भएको छ भने नयाँ कम्पनीले यसको सञ्चालन शुरु नगरेसम्म यी चियाबगानका श्रमिकहरूले सरकारबाट फौलाइको रूपमा मासिक 1,500 रुपियाँ आर्थिक सहयोग पनि प्राप्त गर्नेछन्। यसमा विनय तामाङपन्थी गोजमुमो पूर्णरूपले खुशी छ। साथै यी चियाकमानका प्रत्येक श्रमिकलाई हामी बधाइ पनि दिन्छौं।”

यसबारे विस्तृत जानकारी गराउनका लागि आउँदो आइतवार डीटीडीपीएलयूले धोत्रे चियाकमानमा एक सभा गर्ने योजना बनाएको पनि श्रमिक सङ्गठनकी अध्यक्ष गुरूङले जानकारी गराइन्।

यति मात्रै होइन, विगत 5 वर्षदेखि अचल अवस्थामा रहेका धोत्रे, कलेजभेल्ली र पेशोक चियाकमानको विषय लिएर हाल कस्तो पहल भइरहेको छ भन्नेबारे जानकारी गराउँदै डीटीडीपीएलयूले आजदेखि नै यी तीनैवटा चियाबगान क्षेत्रमा पोस्टरिङ पनि टाँस्न शुरु गरेको छ।

यसैबीच, भोलि फेरि दार्जीलिङ टी एसोसिएशनमा चियाश्रमिकहरूको बोनस विषय लिएर दोस्रो चरणको बैठक हुने तय भएको पनि डीटीडीपीएलयूका महासचिव भरत ठकुरीले जानकारी गराए। जसमा 20 प्रतिशतभन्दा एक कदम पनि पछि नहट्ने सङ्गठनको कटिबद्धता रहेको पनि उनले बताए।

स्मरण रहोस्, चियाबगान मालिकहरूको सङ्गठन डीटीए (दार्जीलिङ टी एसोसिएशन)-ले अघिबाटै यसपालि दार्जीलिङ पहाड़का चियाबगान मालिकहरू 20 प्रतिशत दरको बोनस दिने अवस्थामा नै नरहेको बताएको छ भने श्रमिक सङ्गठनहरू पनि दशैं नमान्ने, तर 20 प्रतिशतको दरले बोनस लिएरै छोड्ने अड़ानमा अडिग छन्। यसैले भोलि हुने दोस्रो चरणको बोनस बैठकमा पनि कुनै निष्कर्ष निस्किने सम्भावना कम्ती नै देखा परिरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here