यस्ता शिक्षक, जसले साधारण स्कूललाई स्मार्ट स्कूल बनाए

1
2304
खोलाचन्द फाप्री प्राथमिक पाठशाला।

सिलगढ़ी, 5 सेप्टेम्बर : कैलाश सुब्बा। एकजना यस्ता युवा शिक्षक, जसले प्राथमिक पाठशालाको जीर्ण रूपको कायाकल्प मात्र गरेनन्। तर, सरकारी प्राथमिक पाठशालाको पठन पाठनको परिपाटी र ढाँचामा नै परिवर्तन ठूलो परिवर्तन ल्याए। इच्छाशक्ति, इमानदारी र लगाव भए सबै कुरा सम्भव बन्छ भन्ने कुरालाई गजबले चरितार्थ  पारे।

सिलगढ़ी नजिक तर, जलपाइगढ़ी जिल्लामा पर्ने एउटा गाउँ छ, खोलाचन्द फाप्री। त्यहाँ खोलाचन्द फाप्री नाम गरेको एउटा सरकारी प्राथमिक पाठशाला छ। तपाईं त्यहाँ पुगेपछि थाहा हुनेछ, उक्त पाठशालाका प्रधानाध्यापक कैलाश सुब्बाले पाठशालालाई कहाँदेखि कहाँसम्म पुर्‍याएका छन्। सफा-स्वच्छ र सुन्दर खोलाचन्द फाप्री प्राथमिक पाठशालाले शुरुमै तपाईंलाई ध्यानाकर्षित गर्नेछ।

वास्तवमा यो पाठशाला र यहाँका प्रधानाध्यापक सुब्बाले धेरैवटा पुरस्कार प्राप्त गरिसकेका छन्। एउटा उदाहरणीय र अनुकरणीय पाठशाला बनिसकेको छ। वाह! वाह! र प्रशस्ति थुप्रै बटुलिसकेको छ।

यी उद्यमी, सिर्जनशील र समयसचेत प्रधानाध्यापकले साधारण र जीर्ण बनिसकेको पाठशालालाई ‘स्मार्ट स्कूल’-मा परिवर्तन गरेका छन्, जहाँ विद्यार्थीहरूलाई पुस्तकी ज्ञान मात्र होइन। तर, कम्प्युटर, स्वच्छता, खेल, सङ्गीत, भ्रमण र अन्य व्यावहारिक ज्ञान दिनेगरिन्छ।

स्कूलको आफ्नै सुन्दर बगैंचा छ। खेलका लागि मैदान छ। झट्टै हेर्दा कुनै सुन्दर बङ्ग्लोजस्तै देखिन्छ। यसका साथै श्रेणी कोठाहरूलाई डिजिटल पोस्टरद्वारा सजाइएका छन्। स्कूलको प्रवेशद्वारमा नै महात्मा गान्धीको प्रतिमा छ। पाठशालाको आफ्नै क्याबिनेट लर्निङ, लाइब्रेरी र कम्प्युटर कोठा पनि छ।

यी उद्यमी शिक्षक कैलाश सुब्बा पछिल्लो 19 वर्षदेखि यो पाठशालामा कार्यरत् छन्। उनी अहिले प्रधानाध्यापक बनेका छन्। सुब्बाले कहिले पनि विद्यार्थीहरूको शिक्षासँग सम्झौता गरेनन्। बरु उल्टै विद्यार्थीहरूको कल्याण र पाठशालाको बुनियादी ढाँचाको विकासका लागि आफ्नै गोजीबाट पैसा खर्चिने गरेका छन्।

प्रधानाध्यापक सुब्बाकै सोच र मिहिनेतको कारण खोलाचन्द फाप्री प्राथमिक पाठशालाले 2012 -मा निर्मल विद्यालय पुरस्कार, 2013 मा शिशु मित्र पुरस्कार, 2014 मा जिल्ला सर्वश्रेष्ठ विद्यालय र 11 नोभेम्बर 2014 मा प्रतिष्ठित यजमणि रोय पुरस्कारलगायत अन्य धेरै पुरस्कार प्राप्त गरिसकेको छ।

यो पाठशालाले युनिसेफको डेली ग्रुप ह्याण्ड वासिङ एण्ड टुथ ब्रसिङ अवधारणालाई लागू गरेको छ। जसअन्तर्गत विद्यार्थीहरूले मध्याह्न भोजन खानअघि हात धुने र खाना खाइसकेपछि दाँत माझ्ने गर्छन्।

सबैभन्दा उल्लेखनीय कुरा के हो भने उक्त पाठशालाको पठन-पाठन, स्वच्छता, उपलब्धि र अन्य व्यावहारिक ज्ञानप्राप्तिका कार्यक्रमहरू हेरेरै क्षेत्रका अभिभावकहरूले अहिले आफ्ना नानीहरू प्राइभेट स्कूलबाट निकालेर खोलाचन्द फाप्री प्राथमिक पाठशाला पठाउन शुरु गरेका छन्।

1 टिप्पणी

  1. मैले सोचेको भन्दा धेरै नै लेखिएको पाएँ । पत्रकार सित मेरो बात पनि भयो उहाँले मलाई व्यक्तिगत भूल भएको स्वीकार गर्नु भयो । मलाई त्यसमा व्यक्तिगत मनमा लाग्ने र रिसाउनु पर्ने कुरो केही छैन । आजभोलि पत्र पत्रिका तिर भूल भएकै हुन्छ । जे भए पनि जीवनमा पहिलो पल्ट संवाद मध्यमासित यति धेरै खुशी लाग्यो कि उहाँहरूले कमसे कम गरिएको कार्यको कदर गरी शिक्षक दिवसको यस्तो बहुमूल्य उपहार दिनु भयो । उहाँहरुका उद्धेश्य मलाई सम्मान पनि गर्ने अनि अन्य स्कूलहरु लाई मेसेज पनि दिनु थियो मैले बुझेको । वर्तमानमा धेरै स्कूलहरू नै राम्रो, उन्नत भइसकेका छन् । भनौं हामीभन्दा राम्रो भइसकेका छन् । नहुनेहरुलाई अझ प्रेरणा मिलोस् म पनि चाहन्छु ।
    अन्तमा जन संवाद अनलाईन पत्रिका र पत्रकार प्रशान्त आचार्य ज्युलाई अशेष धन्यवाद टक्र्याउदै आभार व्यक्त गर्दछु 🙏 ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here