सुनिल छेत्रीको टीमविरुद्ध कोमल ठटालको रेकर्ड गोल, बने आईएसएलमा गोल गर्ने सबैभन्दा कान्छो खेलाड़ी

0
970
बेङ्ग्लुरु एफसीविरुद्धको म्याचमा बल अघि बढ़ाउँदै एटीकेका खेलाड़ी कोमल ठटाल।

जनसंवाद डेक्स

गान्तोक,  1 नोभेम्बर : सिक्किमे छोरा कोमल ठटाल इण्डियन सुपर लीग (आईएसएल)-मा गोल गर्ने सबैभन्दा कान्छो उमेरको खेलाड़ी बनेका छन्। युवा ट्यालेण्ट कोमलले बुधवार राति बेङ्ग्लुरु एसपीविरुद्ध गोल गरेपछि यो रेकर्ड आफ्नो नाममा गरेका हुन्।
हिजो बेङ्ग्लुरु एफसीविरुद्ध यो गोल गर्दा कोमल 18 वर्ष 1 महिना 13 दिनका थिए। यद्यपि यो रेकर्डबारे अखिल भारतीय फुटबल महासङ्घले कुनै आधिकारिक बयान जारी गरेको छैन। 
अघिबाटै जमशेदपुरका युवा ट्यालेण्ट गौरव मुखीको उमेर विवादलाई लिएर आईएसएलमा गोल गर्ने सबैभन्दा कान्छो खेलाड़ी गौरव मुखी कि कोमल ठटाल हुन् भन्ने कुरालाई लिएर अहिले नै स्पष्ट हुनसकेको छैन। तथापि एआईएफएफले आधिकारिक रूपमा स्पष्ट नगरेसम्म हामी कोमल ठटाल नै आईएसएलमा गोल गर्ने सबैभन्दा कान्छो खेलाड़ी हुन् भन्नसक्छौं।
कोलकाताको सल्टलेकस्थित युवा भारती क्रीड़ाङ्गणमा खेलिएको यो खेलमा कोमलले 15औं मिनटमा यो रेकर्ड गोल गरेका हुन्। पछिल्लो वर्ष अण्डर-17 विश्वकप खेलेका सिक्किमेली छोरा कोमल ठटालको नाममा यसअघि ब्राजीलविरुद्ध गोल गर्ने पहिलो भारतीय खेलाड़ी हुनुको उपलब्धि पनि छ। कोमलले 14 अक्टोबर 2016 -मा ब्राजीलविरुद्ध अण्डर-17 ब्रिक्स कपमा यो ऐतिहासिक गोल गरेका थिए। यो प्रतियोगिता भारतमै आयोजन गरिएको थियो।
बुधवार आईएसएलको खेलमा कोमलले दर्शनीय गोल गरे तापनि उनको टीम एथ्लेटिको कोलकाता बेङ्ग्लुरु एफसीसँग पराजित भयो।
गौरव मुखी कि कोमल ठटाल?
कोमल ठटाल (फाइल फोटो)।
आईएसएलका अनुसार जमशेदपुर एफसीका युवा ट्यालेण्ट गौरव मुखी यो प्रतियोगितामा गोल गर्ने सबैभन्दा कान्छो खेलाड़ी हुन्। मुखीले पछिल्लो 7 अक्टोबरमा बेङ्ग्लुरु एफसीविरुद्ध गरेका थिए। यो गोल गर्दा उनको उमेर केवल 16 वर्ष बताइएको छ। यद्यपि झारखण्डका यी युवा खेलाड़ी अहिले उमेर विवादमा फँसेका छन्।
दुईवटा बेग्ला बेग्लै सन्दर्भमा जन्ममिथि फरक बताएपछि स्टार फरवर्ड मुखी विवादमा फँसेका हुन्। 
अखिल भारतीय फुटबल महासङ्घका अनुसार मुखीले पहिला आफ्नो जन्ममिति 4 मई 1999 बताएका थिए। पछि केन्द्रिकृत पञ्जीकरण प्रणाली (सेण्ट्रालाइस्ड रेजिस्ट्रेशन सिस्टम) –का लागि उनले जुन दस्तावेज बुझाएका थिए, त्यसमा जन्ममिति 4 मई 2002 बताइएको छ। झारखण्डका यी स्टार फरवर्डको उमेर 16 कि 19? अहिले नै स्पष्ट हुनसकेको छैन। एआईएफएफले यो मामिलाको जाँच गरिरहेको छ।
गौरव मुखी (फाइल फोटो)।
सन् 2015 –मा राष्ट्रिय च्याम्पियनशीपमा पनि असली उमेरमा छलकपट गरेको मामिलामा मुखी पक्रा परेका थिए। त्यससमय मुखीको उमेर विवादकै कारण झारखण्डका प्रशिक्षकमाथि एक वर्षको प्रतिबन्ध लागेको थियो। साथै महासङ्घमाथि एक लाख रुपियाँको जरिमाना तोकिएको थियो।
यदि गौरव मुखीको असली जन्ममिति 4 मई 1999 हो भने गत 7 अक्टोबरमा बेङ्ग्लुरु एफसीविरुद्ध गोल गर्दा उनको उमेर 19 वर्ष पाँच महिना 3 दिनको थियो। 
यसअर्थमा पनि कोमल नै आईएसएल इतिहासमा गोल गर्ने अहिलेसम्मकै सबैभन्दा कान्छो खेलाड़ी हुन् भन्ने प्रायः निश्चित छ। किनभने सन् 2015 –मा  सब जुनियर च्याम्पियनशीपमा झारखण्डबाट खेलेका मुखीको उमेर त्यसबेला प्रायः 15 वर्ष रहेको बताइएको थियो। सन् 2015 –मा  प्रायः 15 वर्षे बताइएको मुखीको उमेर अहिले कसरी केवल 16 भयो? दस्तावेज र शारीरिक संरचनालाई हेरेर पनि गौरव मुखी केवल 16 वर्ष पुगेका हुन् भन्ने कुरा पत्याउन गाह्रै हुन्छ।
यसभन्दा अघि आईएसएलमा सबैभन्दा सानो उमेरमा गोल गर्ने रेकर्ड जेरी लालरिञ्जुएलाको नाममा थियो। 1 दिसम्बर 2016-मा गोवाविरुद्ध गोल गर्दा चेन्नईका यी युवा खेलाड़ीको उमेर 18 वर्ष चार महिना दुई दिन थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here