बोनस २० प्रतिशतको दरले नै दिइनुपर्छ : एचपीडब्ल्यूयू

0
1156

दार्जीलिङ, ७ सेप्टेम्बर : शनिवार गोरामुमोको श्रमिक सङ्गठन हिमालयन प्लाण्टेशन लेबर युनियन (एचपीडब्ल्यूयू)-ले रङ्गनित चियाकमानमा गेट मिटिङ गरी त्यहाँका श्रमिकहरूलाई बोनस विषय भइरहेको बैठक तथा मालिकपक्ष र श्रमिक सङ्गठनको आ-आफ्नो अड़ानबारे बुझायो।

स्थानीय श्रमिकहरूलाई सम्बोधन गर्दै एचपीडब्ल्यूयूका कार्यकारी डीके गुरुङले लेबर एक्टको कुरा निकालेर ८.३३ प्रतिशतको बोनसको कुरा गर्ने मालिकपक्षले त्यस्तै लेबर एक्टभित्रका रहेका अन्य सहुलियतहरू चियाश्रमिकहरूलाई नदिएको बताए।

‘मालिकपक्षले लेबर एक्टअन्तर्गत केवल ८.३३प्रतिशतको बोनस दिन्छ भने त्यसै एक्टभित्र रहेका सबै सहुलियत पनि श्रमिकहरूलाई दिनुपर्छ’, गुरुङले भने। उनका अनुसार शुक्रवार डीटीएमा सम्पन्न बोनस बैठकबारे बुझाउन र रङ्गनित चियाकमानका श्रमिकहरूको समस्या बुझ्न नै आज गेट मिटिङ आयोजन गरिएको बताए।

‘मालिकहरू ८.३३ प्रतिशतभन्दा माथि बढ़्नै चाहेको छैन। हामी श्रमिकहरू बेग्ला-बेग्लै पार्टीको भए तापनि २० प्रतिशतको अड़ानमा बसेका छौं’, गुरुङले भने, ‘हामी २० प्रतिशतभन्दा तल झर्नेछैनौं। हामी २० प्रतिशत नै बोनस दिइनुपर्ने मागमा एकबद्ध छौं।’ उनले २० प्रतिशत बोनसका लागि सड़कमा ओर्लिन परे पनि ओर्लिनका लागि श्रमिक सङ्गठनहरूले कमर कसिसकेको बताए।

आजको गेट मिटिङमा उनीलगायत एचपीडब्ल्यूयूका महासचिव एसके लामा, सचिव धीरज राई, लेबुङ भेल्ली सभापछि राजु सुब्बा, रङ्गनित शाखा सभापति निमा तामाङ, सचिव दिपेन राई, गोर्खा राष्ट्रिय नारी सङ्गठनबाट पम्पा लामा र अर्चना मास्के आदि उपस्थित थिए। अर्कोतिर यसै अवसरमा एचपीडब्ल्यूयू रङ्गनित शाखा गठन गरिएको गोरामुमो मिडिया सेलका प्रभारी दिनेश साम्पाङले जानकारी गराएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here