एनआरसी सम्बन्धमा विनयपन्थी गोजनामोले मुख्यमन्त्रीलाई पत्राचार गर्ने

0
1631

दार्जीलिङ, 10 सेप्टेम्बर : विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-को नारी एकाइ गोर्खा जनमुक्ति नारी मोर्चाले राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) सम्बन्धमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई चिट्ठी लेख्ने निर्णय गरेको छ।

मङ्गलवार गोजनामोको एक सभा सम्पन्न भएको थियो। उक्त सभामा एनआरसी सम्बन्धमा राज्यकी मुख्यमन्त्रीलाई चिट्ठी लेख्ने निर्णय लिइएको बताइएको छ। उल्लेखनीय छ, विनयपन्थी गोजमुमोले एनआरसी लागू हुनअघि भारतभरि छरिएर बसेका गोर्खाहरूलाई संरक्षित सूचीमा राखिनुपर्ने एवं मूलनिवासी (ओरिजिनल इनह्याभिटेन्ट्स) घोषणा गरिनुपर्ने माग गर्दै आएको छ।

आज यसबारे पत्रकारहरूलाई जानकारी गराउँदै गोजनामो दार्जीलिङ महकुमा समिति अध्यक्ष उर्मिला सिंहले भनिन्, “आज हामीले एक सभा गर्‍यौं। विभिन्न समष्टिका पदाधिकारीहरूको उपस्थिति रहेको सभामा प्रमुख विषय नै एनआरसी थियो। हामी एनआरसीको विरोधमा छैनौं। तर, हामी चाहन्छौं, जस्तो प्रकारले एनआरसीबाट असमका एक लाखभन्दा बढ़ी गोर्खा छुटे, त्यो फेरि दोहोरिनु हुँदैन।” एनआरसी सम्बन्धमा नै हिजो गोजनामोले जिल्लापाललगायत महकुमा अधिकार र खण्ड विकास अधिकारलाई ज्ञापन चढ़ाएको पनि उनले जानकारी गराइन् ।

उनका अनुसार ज्ञापनमा गोर्खा को हुन् र कहाँबाट आएका हुन् भन्ने प्रश्न भारत सरकारले सोधिएको छ। “हामी चाहन्छौं, उनीहरू (भारत सरकार)-ले हामीलाई जमिनसँगै आएको र यहाँका मूलनिवासी हुन् भनिदिउन्”, गोजनामो अध्यक्ष सिंहले भनिन्।

उल्लेखनीय छ, विनयपन्थी गोजमुमोले पछिल्लो 7 सेप्टेम्बरदेखि नै एनआरसीको विरोधमा विभिन्न कार्यक्रम शुरु गरिसकेको छ। केही दिनअघि मात्र युवा एकाइ गोजयुमोले पहाड़का विभिन्न स्थानमा पोस्टरिङ गरेको थियो भने हिजो नारी एकाइ गोजनामोले पहाड़का जिल्लापाल, महकुमा अधिकारी र खण्ड विकास अधिकारीलाई ज्ञापन चढ़ाएको छ। यसैगरी आगामी 12 सेप्टेम्बरको दिन पहाड़का विभिन्न स्थानमा एनआरसीको विरोधमा प्रतिवाद र्‍याली निकाल्ने कार्यक्रम छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here