दार्जीलिङ, 12 सेप्टेम्बर : दार्जीलिङमा गणतन्त्र छ भनेर दाबी गर्नेहरूले सांसद राजु विष्टलाई तकभरमा बाटो छेकेको घटनालाई कसरी अर्थ्याउनेछन् भन्ने प्रश्न क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले गरेको छ।
“हामीले पहिल्यैदेखि राज्यसत्ताले दार्जीलिङमा गणतन्त्रको हत्या गरेको कुरालाई उठान गर्दै आएका हौं”, क्रामाकपा प्रवक्ता गोविन छेत्रीले थपे, “एकजना जनप्रतिनिधिलाई कानून व्यवस्थालाई मिचेर बाटो छेकिएको घटनाले दार्जीलिङ वर्तमान परिस्थिति र राज्यसत्ता र यसका पृष्ठपोषकहरूको पहाड़मा मनमानी र अगणतान्त्रिक कार्यलाई स्पष्ट पार्छ।”
छेत्रीले तकभरकाण्डलाई अत्यन्त निन्दनीय कार्य ठहर गर्दै उक्त बाटो छेकाइको कार्यले लोकतान्त्रिक मर्यादा र गणतान्त्रिक अधिकारको ठाड़ो उल्लङ्घन गरेको बताएका छन्।
“गणतान्त्रिक ढङ्गमा विरोध गर्न सबैले पाउँछन्। तर, सांसद राजु विष्टलाई जुन प्रकारले बाटो छेकियो, त्यो गैरकानुनी र अगणतान्त्रिक हो’, उनले थपे, “यदि पुलिस प्रशासनले साँच्चै निष्पक्ष काम गर्छ भने उक्त काण्डमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही गरेको हुनुपर्छ।”
दार्जीलिङ पहाड़मा राज्यसत्ताको हित रक्षाका लागि अगणतान्त्रिक, गैरकानुनी र मनमानी कार्य बढ़िरहेको क्रामाकपा प्रवक्ताले आरोप पनि लगाए। उनले भने, “दार्जीलिङमा अहिले जे भइरहेको छ, त्यसले नागरिक अधिकार खोसिरहेको छ। राज्यलाई फाइदा पुर्याउने काम भइरहेको छ।”
उनको आरोपका अनुसार आफ्नो पृष्ठपोषकहरूलाई पहाड़मा बलियो नबनाएसम्म राज्य सरकार जीटीएको चुनाउ गराउने पक्षमा छैन। म्याद बढ़ाएर विनय-अनितहरूलाई जीटीएको सत्तामा बसाइराख्ने पक्षमा राज्य छ।
“हामी जीटीएको पक्षमा छैनौं। दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधानअन्तर्गत् केन्द्रले छुट्टै राज्य गोर्खाल्याण्डको गठन होस् भन्ने क्रामाकपाको माग हो”, गोविन छेत्रीले थपे, “तर राज्य सरकारले जीटीएको म्याद बढ़ाएर जस्तो प्रकारले अगणतान्त्रिक र ऐनविरुद्ध कार्य गरिरहेको छ, त्यसबारे आँखा चिम्लेर पनि बस्नसक्दैनौं। अहिले जीटीएको सत्तामा बसेकाहरूको जनाधार कति रहेछ भन्ने कुरा पछिल्ला दुई चुनाउले स्पष्ट पारिसकेको छ। जनतै नभएका मानिसहरूले जीटीएको नाममा पहाड़मा मनमानी गरिरहेका छन्।”
क्रामाकपा प्रवक्ताका अनुसार जीटीए चुनाउलाई पनि पहाड़मा पञ्चायत चुनाउलाई जस्तै टार्दै लैजाने पक्षमा राज्य सरकार छ। उनले पहाड़मा शीघ्रै त्रिस्तरीय पञ्चायत चुनाउ माग पनि गरेका छन्।