एनआरसीको विरोधमा विनयपन्थी मोर्चाको प्रतिवाद ऱ्याली

0
1495
एनआरसीको विरोधमा विनयपन्थी मोर्चाले निकालेको प्रतिवाद ऱ्याली।

दार्जीलिङ, 12 सेप्टेम्बर : राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-बाट असमका एक लाखभन्दा अधिक गोर्खा छुटेको घटनाको विरोध गर्दै बिहीवार विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का विभिन्न भातृ सङ्गठनले दार्जीलिङमा प्रतिवाद र्‍याली निकाले। यसअवसरमा उनीहरूले छुटेका गोर्खाहरूको नाम एनआरसीमा पुनः अन्तर्भुक्ति गरिनुपर्ने माग पनि गरे।

“असममा जस्तो प्रकारले एनआरसी लागू गरी एक लाख 60 हजार अधिक गोर्खालाई बाहिर राखिएको छ, त्यसको विरोधमा आज हामीले एक र्‍यालीको आयोजन गर्‍यौं”, संयुक्त माध्यमिक शिक्षक सङ्गठनका अध्यक्ष अनिल शर्माले थपे, “भारतभरि छरिएर बसेका गोर्खाहरूलाई मूलनिवासी घोषित गरी संरक्षित सूचीमा राखिनुपर्ने हाम्रो माग हो। एनआरसीबाट एकैजना गोर्खा पनि छुटिनु हुँदैन।”

शर्माका अनुसार र्‍याली आयोजनपछि आज र्‍यालीमा सहभागी विभिन्न सङ्गठनले जिल्लापाललाई यस सम्बन्धमा एक ज्ञापन पनि सुम्पेका छन्। ज्ञापनमा पनि उल्लिखित माग नै समावेश गरिएको उनको भनाइ छ।

“हामी एनआरसीको होइन, तर यसलाई लागू गर्ने प्रक्रियाको विरोधमा छौं। हामी भूमिसँगै आएका हौं। यसैले भारतभरिका गोर्खाहरूलाई मूलनिवासी घोषित गरी संरक्षित सूचीमा राख्नुपर्ने हाम्रो माग हो”, शर्माले भने।

उल्लेखनीय छ, पछिल्लो 7 सेप्टेम्बरदेखि नै विनयपन्थी गोजमुमोले एनआरसीविरुद्ध विभिन्न कार्यक्रम शुरु गरेको छ।  

7 सेप्टेम्बरको दिन युवा मोर्चाले एनआरसीको विरोधमा पहाड़भरि पोस्टरिङ गरेपछि शुरु भएको एनआरसीको विरोध कार्यक्रमअन्तर्गत 9 सेप्टेम्बरको दिन नारी मोर्चाले पहाड़का जिल्लापाल, महकुमा अधिकारी र खण्ड विकास अधिकारीलाई ज्ञापन सुम्पेको थियो।

अर्कोतिर एनआरसी मुद्दालाई लिएरै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई भेट गरी छलफल गर्ने तथा एक टोली  एनआरसीबाट छुटेका असमेली गोर्खाहरूको अवस्था बुझ्न असम जाने अगावै बताइसकेको छ। यद्यपि असम जाने र ममतालाई भेट्ने मिति भने अहिले नै तय नभएको विनयपन्थी मोर्चाले बताएको छ।

यसैगरी आजै कालेबुङमा पनि विनयपन्थी मोर्चाका विभिन्न भातृ सङ्गठनले एनआरसीविरुद्ध शहरमा र्‍याली निकाल्नका साथै यससम्बन्धमा जिल्लापाललाई एक ज्ञापन चढ़ाए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here