दार्जीलिङ, 12 सेप्टेम्बर : बुधवार दार्जीलिङका सांसद राजु विष्टले असमका मुख्यमन्त्री सर्वानन्दा सोनोवाललाई भेट गरी राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-बाट गोर्खाहरू छुटेको मुद्दा उठाउनका साथै एनआरसीबाट छुटेका गोर्खाहरूको नाम पुनः अन्तर्भुक्ति गराउने माग गरेका छन्। स्वयं सांसद विष्टले बिहीवार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएका छन्।
सांसदका अनुसार उनले असमका मुख्यमन्त्रीलाई गोर्खाहरूलाई असमका मूलनिवासीको एनआरसीमा सामेल गर्ने थप माग पनि गरेका छन्। विष्टले सोनोवालसँगको बैठकलाई सकारात्मक बताएका छन्। बैठकमा दार्जीलिङका विधायक नीरज जिम्बाले पनि भाग लिएका थिए। उनीहरू असममा जातीय चिन्तन सभामा पनि उपस्थित रहे।
“एनआरसीमा गोर्खाहरू छुटेको मुद्दामा मैले असमका मुख्यमन्त्रीसँग हिजो भेटवार्ता गरे। साथै त्यहाँका गोर्खाहरूलाई असमका मूलनिवासीको रूपमा सामेल गर्ने अनुरोध गरे। ताकि भविष्यमा असमका गोर्खाहरूले कुनै प्रकारको समस्याको सामना गर्न नपरुन्”, विष्टले विज्ञप्तिमा भनेका छन्।
अर्कोतिर असमका मुख्यमन्त्रीसँगको भेटवार्तामा गोर्खा जातिका 11 जातगोष्ठीलाई अनुसूचित जनजातिको मान्यता दिनका लागि अनापत्ति-पत्र जारी गर्ने अनुरोध गरेको पनि उनले जनाएका छन्।
“केही नाम एनआरसीबाट छुटे तापनि गोर्खा समुदायले चिन्ता गर्नुपर्ने कुनै आवश्यकता नरहेको मुख्यमन्त्रीले मलाई आश्वासन दिएका छन्। सरकारले गोर्खाहरूलाई असमेली समुदायकै रूपमा मान्ने कुरामा उनले जोड़ दिएका छन्। साथै गोर्खाको रूपमा सन्दर्भित गर्ने आवश्यकता नै नरहेको उनले बताएका छन्। गोर्खा समुदाय असमेली समुदायकै अभिन्न र अविभाज्य अङ्ग रहेको मुख्यमन्त्रीले बताएका छन्”, विष्टले विज्ञप्तिमा भनेका छन्।
विष्टले दाबी गरेअनुसार एनआरसीको प्रक्रिया पूरा हुँदासम्म असमका सबै खाँटी नागरिकको नाम अन्तर्भुक्त हुने कुरामा विश्वस्त छन्। “असम सरकारले एकैजना गोर्खालाई पनि नोक्सान पुग्न नदिने आश्वासनलाई मुख्यमन्त्रीले दोहोर्याएका छन्”, उनले भनेका छन्।
विष्टले बताएअनुसार उनले एनआरसीमा नाम छुटेका गोर्खाहरूसँग भेट गरी उनीहरूको अवस्था र समस्याबारे जानकारी लिए। साथै अल असम गोर्खा स्टुडेण्ट युनियनको तत्वावधानमा सम्पन्न जातीय चिन्तन सभामा सहभागी बने। जसमा भारतीय गोर्खा परिसङ्घ, असम नेपाली साहित्य सम्मेलन र असम गोर्खा सम्मेलनका पदाधिकारीलगायत गोर्खा समुदायका अन्य विशिष्ट व्यक्तिहरू उपस्थित रहेको उनले विज्ञप्तिमा थप जनाकारी गराएका छन्।