कोलकाता, 13 सेप्टेम्बर : कोलकाताका पूर्व पुलिस आयुक्त एवं वर्तमानमा सीआईडीका एडीजी राजीव कुमारको समस्या बढ़ेको छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको अत्यन्त नजिकका मानिने यी वरिष्ठ आईपीएस अधिकारीको पक्राउमाथि लगाइएको रोकलाई शुक्रवार कोलकाता उच्च न्यायालयले हटाएपछि उनको समस्या बढ़ेको हो।
उच्च न्यायालयले पक्राउमाथि रहेको रोकलाई हटाएपछि अब कुनै पनि समय राजीव कुमार पक्रा पर्नसक्छन्। सीबीआई शारदाकाण्डमा केरकारका लागि राजीव कुमारलाई हिरासतमा लिन चाहन्छ। राजीव कुमारले यसविरुद्ध उच्च न्यायालयमा याचिका दर्ता गरेका थिए। न्यायालयले उनको पक्राउमाथि रोक लगाएको थियो। यद्यपि यो रोकलाई आज हटाएको छ।
जानकारीका अनुसार कोलकाता उच्च न्यायालयबाट पूर्व पुलिस कमिश्नर राजीव कुमारलाई थप अर्को झट्का लागेको छ। राजीव कुमारले पक्राउबाट राहत पाएका छैनन्। हजारौं करोड़ौं रुपियाँको शारदा चिटफण्ड घोटालामा कोलकाताका यी पूर्व पुलिस आयुक्त तथा सीआईडीका एडीजी राजीव कुमारलाई हिरासतमा लिएर केरकार गर्ने मामिलामा लामो सुनवाइपछि कोलकाता उच्च न्यायालयले शुक्रवार यस्तो फैसला सुनाएको हो।