छात्रावास निर्माणको पहल शुरु गरिएको दाबी, विष्टद्वारा मन्त्री गहलोतप्रति आभार प्रकट

0
1851
केन्द्रिय मन्त्री थावरचन्द गहलोतले सांसद विष्टलाई पठाएको पत्र।

दार्जीलिङ, 13 सेप्टेम्बर : दार्जीलिङ, खरसाङ, कालेबुङ र सिलगढ़ीमा अनुसूचित जाति (एससी), अन्य पछौटे वर्ग (ओबीसी) र आर्थिक रूपले पछौटे वर्ग (ईबीसी)-का विद्यार्थीहरूका लागि बाबु जगजीवन राम छात्रावास योजनाअन्तर्गत छात्रावास निर्माणका लागि सामाजिक न्याय एवं सशक्तिकरण मन्त्रालयले पहल शुरु गरेको सांसद राजु विष्टले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गरी दाबी गरेका छन्।

यसका लागि उनले सामाजिक न्याय एवं सशक्तिकरण मन्त्री थावरचन्द गहलोतप्रति आभार प्रकट गरेका छन्। विष्टका अनुसार हिजो उनलाई मन्त्री थावरचन्द गहलोतले पठाएको एक पत्र प्राप्त गरेका छन्।

पत्रमा पछौटे वर्ग कल्याण एवं आदिवासी विकास विभागका प्रभारी मन्त्री राजीव ब्यानर्जीलाई सम्बन्धित विषयमा एक प्रस्ताव पठाउने सुझाउ दिएको उल्लेख गरिएको छ।

यसरी छोटो समयमा नै मन्त्री गहलोतले आफ्नो उक्त मागबारे पहल गरेकोमा सांसदले उनीप्रति आभार प्रकट गरेका छन्। साथै यस मागबारे पश्चिम बङ्गाल सरकारले तत्परतासँग काम गर्ने आफू विश्वस्त रहेको बताएका छन्।

सांसदले विज्ञप्तिमा जानकारी गराएअनुसार पछिल्लो 27 अगस्तको दिन सामाजिक न्याय एवं सशक्तिकरण मन्त्री थावरचन्द गहलोतसँग भेट गरी दार्जीलिङ, कालेबुङ, खरसाङ सिलगढ़ीमा एससी, ओबीसी र ईबीसी विद्यार्थीहरूका लागि बाबु जगजीवन राम छात्रावास योजनाअन्तर्गत् छात्रावासको निर्माण गर्नुपर्ने माग गरेका थिए।

दार्जीलिङ र कालेबुङ जिल्ला पहाड़ी क्षेत्र भएकोले शिक्षार्जनका लागि यी दुई जिल्लाका विद्यार्थीहरूले लामो दूरीको यात्रा तय गर्नुपर्ने हुनाले उल्लिखित स्थानहरूमा छात्रावासको निर्माण गरिएको खण्डमा ती विद्यार्थीहरूले लाभ उठाउने कुराबारे उक्त भेटवार्तामा  मन्त्रीलाई अवगत गराएको पनि विष्टले विज्ञप्तिमा बताएका छन्।

त्यसै भेटवार्ताअवधि विशेष रूपले सक्षम मानिसहरूका लागि अनुदार र आवश्यक उपकरण वितरण गर्नका लागि शिविर आयोजन गर्ने माग गरेको र यसबारे मन्त्रालयले दार्जीलिङ संसदीय क्षेत्रमा मूल्याङ्कन शिविर आयोजन गर्नका लागि प्रक्रिया शुरु गरेको पनि दाबी गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here