सिलगढ़ी, 16 सेप्टेम्बर : बेलाकोबा फरेस्ट रेञ्जका अधिकारीहरूले छेपारा प्रजातिमा पर्ने दुर्लभ 15 टोके जेकोसहित तीनजनालाई पक्राउ गरेका छन्। दुई दिनअघि मात्र बेलाकोबाका वनकर्मीहरूले फटाकपुरबाट एक टोके जेकोसहित दुई व्यक्तिलाई पक्राउ गरेका थिए। केही महिनायता टोके जेकोसहित भटाभट तस्करहरू पक्रा परेपछि यसको तस्करी सङ्गठित रूपमा हुँदै आएको खुलासा भएको छ। यसैक्रममा आइतवार राति भारत-भोटान सीमानजिक अलिपुरद्वार जिल्लाको दलसिंहपाड़ाबाट वनकर्मीहरूले तीनजनालाई पक्राउ गरी उनीहरूबाट 15 वटा जिउँदो टोके जेको बरामद गरेका छन्।
पक्रा पर्नेहरूमा फागु खाड़िया (34), सुरज खाड़िया (22) र अर्जुन खाड़िया (24) छन्। उनीहरू सबै जयगाउँनजिक दलसिंहपाड़ानिवासी हुन्। बेलाकोबा वनका रेञ्जर सञ्जय दत्ताका अनुसार गोप्य सूचनाको आधारमा एक अभियान चलाएर तीनजनालाई पक्राउ गर्नका साथै 15 वटा जिउँदो टोके बरामद गरिएको हो। “हामीले टोकेको तस्करीबारे गोप्य सूचना पाएका थियौं।
यसैको आधारमा एक अभियान चलायौं। दलसिंहपाड़ाको सड़क किनारमा सातजना व्यक्तिबीच टोकेको मोलतोल भइरहेको थियो। तर चारजना भागेका छन्। हामीले तीनजनालाई पक्राउ गर्यौं। जसबाट 15 वटा जिउँदा टोके जेको बरामद गरेका छौं”, उनले भने।
वन अधिकारी दत्ताका अनुसार पक्रा परेका आरोपीहरूले उक्त टोके जेको असमको जङ्गलबाट ल्याएको र 10-12 लाख रुपियाँमा बेच्ने योजना बनाएको स्वीकारेका छन्। टोके जेको छेपारो प्रजातिको दुर्लभ जीव हो। भोटान, असम, बङ्गाल र नेपालको मार्ग भएर चीनमा यसको तस्करी गरिन्छ। पछिल्ला केही वर्षयता यसको तस्करी अत्यधिक बढ़ेको छ। केही वर्षयता सीमा क्षेत्रमा टोके जेकोको तस्करीका सयौं घटना प्रकाशमा आएको छ। यसमा भारतबाट नेपाल र म्यान्मारबाट हुँदै चीन तस्करी गरिएको घटना धेरै छन्।
पक्रा परेका आरोपी तस्करहरूसँगको केरकारअवधि टोके जेकोलाई क्यान्सरको औषधि बनाउन प्रयोग गरिन्छ। “हामीले यसको तस्करीलाई रोक्न धेरै कठोर कारबाही गरिरहेका छौं, तर अहिलेसम्म यसको तस्करी रोकिएको छैन”, उनले भने़।
यसको तस्करी रोक्नका लागि आम मानिसहरूले वनकर्मीहरूलाई सहयोग गर्नुपर्ने पनि उनले अनुरोध गरे।
उल्लेखनीय छ, शुक्रबार बिहानै बेलाकोबा फरेस्टका कर्मचारीहरूले अतुल सरकार र जीवन बर्मनले पक्राउ गरी एउटा जिउँदो टोके बरामद गरेका थिए। उनीहरूले उक्त टोके नेपालमा तस्करी गर्ने योजना बनाइरहेको केरकारमा स्वीकारेका थिए। यसभन्दा अघि पनि एक टोके जोकेसहित नेपालका दुई नागरिक पक्रा परेका थिए।