मिरिक, १८ सेप्टेम्बर : राज्यका पर्यटन मन्त्री गौतम देवले राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) लिएर दार्जीलिङ पहाड़वासीको सन्दर्भ विवादास्पद बयान दिएका छन्। मङ्गलवार मिरिकमा पत्रकारहरूलाई कुराकानी गर्दै मन्त्री देवले यदि बङ्गालमा एनआरसी लागू भएको खण्ड दार्जीलिङ पहाड़का १५ लाख गोर्खाले दार्जीलिङ पहाड़ छोड़्नुपर्ने आशयको बयान दिएका हुन्।
‘दार्जीलिङमा करिब १५ लाख जनसङ्ख्या छ। एनआरसीको जुन मापदण्ड र प्रकिया छ, त्यसले बङ्गालमा एनआरसी लागू भएकोको खण्डमा दार्जीलिङमा बस्ने मान्छे नै हुनेछैनन्। धेरैजसो गोर्खा एनआरसीको कारण दार्जीलिङ पहाड़बाट बाहिरिनेछन्।’
तृणमूल कङ्ग्रेस नेता देवले जनाएअनुसार दार्जीलिङ पहाड़मा पनि तृणमूल कङ्ग्रेसले एनआरसीविरुद्ध आन्दोलन शुरु गर्नेछ। यसैअन्तर्गत कालेबुङ र दार्जीलिङमानागरिक सम्मेलन गर्ने उनको भनाइ छ। यसैगरी यसै महिनाको ३१ तारिख तृणमूल कङ्ग्रेसले खरसाङमा १० देखि ३ बजेसम्म तृणमूल कङ्ग्रेसले प्रदर्शन गर्ने र उक्त प्रदर्शनमा आफू स्वयं उपस्थित हुने गौतम देवले बताएका छन्।
उनले बङ्गालमा एनआरसी लागू हुन नदिने र यसका लागि गर या मरको स्थिति भोग्नसम्म पनि तयार रहेको बताए। अर्कोतिर एनआरसीलाई लिएर हिल तृणमूल कङ्ग्रेसको एक कमिटी गठन गरिएको देवले जानकारी गराएका छन्।
उनका अनुसार हिजो मिरिकमा बसेको कोर कमिटीको बैठकबीच गठन गरिएको कमिटीमा एनबी खवास संयोजक रहेका छन्। पहाड़, तराई र डुवर्सका प्रतिनिधिहरू सम्मिलित एक टोली चाँड़ै एनआरसीबाट छुटेका मानिसहरूको समस्या र अवस्था बुझ्न असम जाने मन्त्री गौतम देवले थप बताएका छन्। यसैगरी तृणमूल कङ्ग्रेसले पहाड़का चियाकमानहरूमा श्रमिक सङ्गठन खोल्ने पनि जनाए। हिजो बसेको दार्जीलिङ पहाड़का विभिन्न मुद्दा र समस्याबारे छलफल गरिएको पनि जानकारी गराएका छन्।