हामी बङ्ग्लादेशीहरूजस्तो काँड़े तार छिरेर आएका होइनौं : प्रकाश गुरुङ

0
1162
विमलपन्थी गोजयुमो अध्यक्ष प्रकाश गुरुङ।

दार्जीलिङ, 18 सेप्टेम्बर : मङ्गलवार मिरिकमा एनआरसी विषयलाई लिएर दार्जीलिङ पहाड़का गोर्खाहरूको सन्दर्भमा तृणमूल कङ्ग्रेसका नेता एवं राज्यका पर्यटन मन्त्री गौतम देवले दिएको बयानलाई विमल गुरुङपन्थी गोर्खा जनमुक्ति युवा मोर्चा (गोजयुमो)-ले तीखो शब्दमा निन्दा गरेको छ।

हिजै एक भिडियो जारी गरी विमलपन्थी युमोका अध्यक्ष प्रकाश गुरुङले गौतम देवको बयानको तीखो शब्दमा भर्त्सना गर्दै उक्त बयानको विरोध गर्न पहाड़का सम्पूर्ण राजनीतिक दल र सङ्घ-संस्था र व्यक्तिविशेषहरू अघि आउनुपर्ने आह्वान गरेका छन्। “बङ्गाल सरकारको मनशाय गोर्खाहरूप्रति एकदमै ठीक छैन”, उनले भनेका छन्, “यसैले समयमा नै सबैले यसको घोर विरोध गर्नु पर्नेछ। हामी पनि गर्नेछौं। सधैँ गर्दै आइरहेका छौं।”

“गौतम देवले जुन बयान दिए, त्यसको हामी घोर विरोध गर्छौं’, गुरुङले थप भनेका छन्, “भारतमा जति पनि गोर्खाहरू छन्, उनीहरू बङ्ग्लादेशी सरह काँड़ेतार छिरेर आएका होइनन्। हामी भूभागसँगै आएका हौं।” उनका अनुसार देवको बयानले गोर्खाहरूमाथि बङ्गाल सरकारको मानसिकतालाई छर्लङ्ग पारेको छ।

अर्कोतिर, उनले हिल तृणमूल कङ्ग्रेसका नेतृत्वहरूको पनि विरोध गरेका छन्। विशेष गरी ती हिल तृणमूल नेतृत्वहरू, जो हिजो गौतम देवले यस्तो बयान दिइरहँदा उनकै छेउछाउमा बसिरहेका थिए। “उनीहरूले यस्तो बयानको विरोध गर्नु पर्ने थियो। तर, नतमस्तक भएर बसिरहेका थिए। यसैले हामी उनीहरूको पनि घोर विरोध गर्दछौं”, गुरुङले भने।

यसैगरी विमलपन्थी युवा मोर्चा मिरिक महकुमा समितिका साङ्गठनिक समीर छेत्रीले पनि गौतम देवको बयानलाई गैर जिम्मेवारीपूर्ण बयान बताउँदै निन्दा गरेका छन्।

“गौतम देवको गैर जिम्मेवारीपूर्ण वक्तव्यले तृणमूल कङ्ग्रेसले हामी दार्जीलिङ पहाड़का गोर्खा समुदायलाई हेर्ने दृष्टिकोण उजागर गरेको छ”, छेत्रीले थप भनेका छन्, “कुन अवस्थामा राष्ट्रिय नागरिक पञ्जी कानून लागू हुँदा दार्जीलिङमा एकैजना गोर्खा रहँदैनन् भन्नु खोजेको हो, त्यो गौतम देवले खुलस्त गर्नुपर्छ। यसको मतलब अहिले दार्जीलिङ पहाड़मा जति पनि गोर्खा छन्, उनीहरू विदेशी हुन् भन्न खोजिएको हो? यो स्पष्ट गर्नुपर्छ।”

उनले थप भनेका छन्, “तृणमूल कङ्ग्रेस साथै विनय तामाङ र अनित थापा समूहका गोजमुमो कार्यकर्ताहरू पनि त्यसो भए अनुप्रवेशकारीहरू नै हुन त? पर्यटन मन्त्री गौतम देवले झट्ट स्पष्टीकरण दिउन्।” छेत्रीका अनुसार तृणमूल कङ्ग्रेस सरकारको दृष्टि दार्जीलिङ पहाड़का गोर्खाहरूमाथि ठीक छैन भन्ने देवको बयानले स्पष्टसँग बुझाउँछ।

“उनीहरूले हामीलाई पनि आफूहरूजस्तै काँड़े तारबाट छिरेर आएको सम्झिन्छन्। गौतम देवको यो वक्तव्य सुनेर पनि नसुने झैं गर्ने हाम्रा तथाकथित बुद्धिजीवी एवं तृणमूल कङ्ग्रेस र विनय-अनित समूहमा हिँड़्ने गोर्खा दाजु-भाइ, दिदी-बहिनीहरूले समयमा नै होश पुर्‍याएको राम्रो हुनेछ। हामीले बारम्बार भनिरहेका छौं, हामी अनुप्रवेशकारी होइनौं”, उनले थप भनेका छन्, “हामी भारतवर्षमा आफ्नो भूमिसँगै भारतीय भएका हौं। भारत सरकारले यो तथ्य बुझिसकेको छ। यसैले बङ्गालका पर्यटन मन्त्री गौतम देवले हामीलाई अनुप्रवेशकारीहरूसँग तुलना गर्न बन्द गरुन्।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here