एनआरसीमा नाम छुटेका गोर्खाहरूको लागि कानुनी, प्रशासनिक र राजनीतिक लडाइँ लड़्नेछौं : विनय

0
977
पत्रकारहरूलाई सम्बोधन गर्दै विनय तामाङ।

दार्जीलिङ, 18 सेप्टेम्बर : विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले एनआरसीबाट नाम छुटेका असमेली गोर्खाहरूको पक्षमा कानुनी, प्रशासनिक र राजनीतिक लडाइँ लड्ने घोषणा गरेको छ।

चारदिने असम भ्रमणपछि दार्जीलिङ फर्किएका गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले बुधवार असममा सही दस्तावेज वा कागज-पत्र भएका धेरै मानिसको नाम पनि एनआरसीबाट छुटेको बताए। यसैले उनले दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका सम्पूर्ण गोर्खे सन्तानलाई आ-आफ्ना दस्तावेजहरू तयार गरेर राख्ने आह्वान गरेका छन्।

यस विषयमा उनले आगामी दशैंपछि राज्यकी मुख्यमन्त्रीसित विस्तृत कुराकानी गर्ने योजना बनाएको बताउँदै यसका लागि आज मात्रै मुख्यमन्त्रीसँग फोनमार्फत् वार्ता गरेका पनि विनयले बताए।

उनले भने, “आज सही दस्तावेज नभएको कारण धेरै असमेली गोर्खाको नाम एनआरसी सूचीबाट हटेको बताइँदैछ, तर सही दस्तावेज भएका धेरै मानिसको नाम पनि एनआरसी सूचीबाट हटेको असम भ्रमणबाट स्पष्ट भएको छ।”

असम गएको 15 सदस्यीय प्रतिनिधि टोलीले त्यहाँका 6 वटा प्रभावित जिल्लाको भ्रमण गरेको र पीड़ित कैयौं परिवारसँग भेटघाट गरी सत्य तथ्य बुझेको तामाङको दाबी छ। “एनआरसीबाट नाम छुटेका पीडित परिवारहरूले धेरै सङ्कटको सामना गरिरहेका छन्”, उनले भने।

यसबारे बोल्दै विनयले थप भने, “कोकराझार, चिराङ, बक्सा, सोनितपुर, विश्वनाथ र नौबारी जिल्लाका प्रभावित पीडित परिवारहरूसित हामीले भेट गर्‍यौं। यसैबीच हामीले कतिपय स्थानमा त्यहाँका जनतासित अन्तर्क्रियात्मक कुराकानी पनि गरेका थियौं। असममा एनआरसीबाट नाम छुटेकाहरूलाई सुरक्षा दिनका लागि नागरिक सुरक्षा मञ्चको गठन भएको छ, यसमा सबै जाति सामेल छन्। यो मञ्चसित पनि कुरा भएको छ, यसैले एनआरसीबाट नाम छुटेकाहरूका लागि गोजमुमोले यो मञ्चसित मिलेर संयुक्त रूपमा कार्य गर्ने निर्णय गरिएको छ।”

अर्कोतिर असमका पीड़ित गोर्खे सन्तानका लागि आफ्नो पक्षबाट सक्दो सहयोग प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्दै उनीहरूबाट एक पैसा पनि नउठाउने गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले ठोकुवा गरेका छन्।

“एनआरसीको प्रक्रिया ठीक भएको छैन। यसमा कसैले पनि राजनीति गर्नु उचित होइन। आज यसको कारण जो पीड़ित बनेका छन्, उनीहरूलाई न्याय दिलाउन सबैले सहयोग गर्नुपर्छ”, तामाङले भने।

यसका साथै उनले यस विषयमा देशका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह आदिसित पनि भेट गर्ने योजना बनाएको जानकारी गराए। यसबारे उनीहरूलाई शीघ्रै पत्राचार गरिने पनि विनयले जानकारी गराएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here