ड्रग्स सेवनविरुद्ध अन्तर्क्रिया कार्यक्रम, दार्जीलिङ एसपीले भने- ड्रग्स सेवन अपराध होइन, रोग हो

0
1016
दार्जीलिङ पुलिसद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रम।

दार्जीलिङ, 19 सेप्टेम्बर : ड्रग्स सेवन अपराध होइन, रोग हो। यसलाई जरैबाट मास्नका लागि प्रत्येक जनता जागरूक बन्नुपर्छ। यसका लागि ड्रग्स सेवन गर्नेहरूलाई सहयोग गर्न दार्जीलिङ पुलिस तयार छ।

बिहीवार ड्रग्स सेवन र यसको नकारात्मक प्रभाव विषय लिएर दार्जीलिङ पुलिसको सक्रियतामा यहाँको मारवाडी सहायक समिति भवनमा एक सचेतना कार्यक्रमको आयोजन गरिएको थियो। जसमा विद्यार्थी, अभिभावकवर्ग, शिक्षक-शिक्षिका, औषधि दोकानका मालिकवर्गका साथै विभिन्न पेशामा संलग्न व्यक्ति सामेल थिए। यसैअवसरमा भएको एक अन्तर्क्रियात्मक कार्यक्रममाझ दार्जीलिङ पुलिस अधीक्षक अमरनाथ के-ले ड्रग्स सेवन एक रोग हो भन्ने बताए।

उनले उपस्थित मानिसहरूलाई सम्बोधन गर्दै भने, “ड्रग्स सेवन गर्नेहरूलाई दार्जीलिङ पुलिसले पूर्ण सहयोग गर्न चाहन्छ। विशेष दार्जीलिङमा ड्रग्सको बढ्दो सेवन साथै बेचबिखनलाई केन्द्र गरेर नै आज दार्जीलिङ पुलिसले एक सचेतना कार्यक्रमको आयोजन गरेको थियो।”

यसै कार्यक्रमलाई सम्बोधन गर्दै दार्जीलिङ सरकारी महाविद्यालयका एक छात्रले दार्जीलिङको पुरानो सुपर मार्केट, नवनिर्मित पीडब्ल्यूडी कार पार्किङका साथै अन्य केही स्थानहरू ड्रग्सखोरहरूको अड्डा बनिसकेको जनाए। जहाँ उनले पुलिसकर्मीहरू तैनाथ गरेर ड्रग्सखोर अनि बिक्रेताहरूविरुद्ध उचित कारबाही गर्ने पनि माग गरे।

यसैको जवाबमा दार्जीलिङ पुलिस अधीक्षक अमरनाथ केले भने, “ड्रग्स सेवन अपराध होइन, यो एउटा रोग हो। यसैले यस्ता युवक-युवतीहरूलाई यो रोगबाट मुक्त गर्न प्रत्येक व्यक्ति अघि आउनुपर्छ। एउटा गाउँमा एकजना ड्रग्सखोर छ भने उनको परिवारसँगै समाजमा पनि यो रोग फैलिएर जान्छ। यसैले यसका लागि प्रत्येक सचेत व्यक्तिले यो रोगलाई जरैबाट मास्नका लागि उचित पहल गर्नुपर्छ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here