दार्जीलिङ, 20 सेप्टेम्बर : शुक्रवारदेखि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-को आयोजनमा 8 दिने दार्जीलिङ फेस्ट वा दार्जीलिङ उत्सव शुरु भएको छ, जसअन्तर्गत् आज पहिलो दिन स्थानीय मोटर स्ट्याण्डबाट एक शोभायात्रा निकालिइयो।
उक्त शोभयात्रामा स्थानीय मानिसहरूले सहभागिता जनाएका थिए। आउँदो 27 दिसम्बरको दिन विश्व पर्यटन दिवसको अवसरमा समाप्त हुने यो दार्जीलिङ फेस्टमा साढ़े चार वर्षे ‘टाइगर’-लाई वीरता सम्मानद्वारा सम्मानित गरिनेछ भने उत्सवको दोस्रो मुख्य आकर्षण लण्डनबाट ल्याण्डरोभर कुदाउँदै विश्वको भ्रमणमा निस्किएका एक वृद्ध पनि हुनेछन्, जसको नाम आयोजक समितिले अहिले सार्वजनिक गर्न अस्वीकार गरेको छ।
यसबारे आयोजक समितिका अध्यक्ष विनय तामाङले पत्रकारहरूसँग कुराकानी गर्दै दार्जीलिङमा उत्सवको मूड शुरु भएको बताए। आज मोटर स्ट्याण्डबाट र्याली शुरु हुँदा फूलपाती शोभायात्राजस्तै लागेको पनि तामाङले बताए।
विनयले भने, “छातीमा पीर मर्का भए तापनि दार्जीलिङको सुन्दरता अनि यहाँको गरिमालाई बचाइराख्न प्रत्येक जनताअघि आउनुपर्छ।”
उनका अनुसार यसै उत्सवबीच एक दिन देश-विदेशबाट दार्जीलिङ घुम्न आएका पर्यटकहरूका लागि पनि विशेष रङ्गारङ कार्यक्रम राखिएको छ। ताकि पर्यटकहरूले पनि दयार्जीलिङ उत्सवको आनन्द लिन सकुन्।
उनले यसपालि आयोजन गरिएको यो दार्जीलिङ फेस्टमा स्थानीय कलाकारहरूलाई नै अवसर प्रदान गरिएको पनि जनाए। यद्यपि फेस्टको अन्तिम दिन अर्थात् 27 सेप्टेम्बरको साँझ गायक अमित पलको कार्यक्रम राखिने निर्णय गरिएको तामाङको भनाइ छ।
यसरी नै गत 15 अगस्तको राति चितुवाको आक्रमणबाट आफ्नो घर मालिकनी अरुणा लामाको जिन्दगी बचाउने ‘टाइगर’ नामक कुकुरलाई सम्मान जनाइनेछ। आउँदो 22 सेप्टेम्बरको दिन दार्जीलिङ फेस्टअन्तर्गत् ‘डग शो’-को आयोजन गरिने भएको छ, यसै कार्यक्रमबीच टाइगरलाई सम्मान जनाइनेछ।
स्मरण गराइन्छ, गत 15 अगस्तको राति सोनादा नयाँ गाउँ वार्ड नम्बर 9 निवासी अरुणा लामामाथि चितुवाले आक्रमण गरेको थियो। तर, उक्त चितुवामाथि नै उल्टा आक्रमण गरी टाइगरले अरुणाको ज्यान बचाएको थियो। यसैले उक्त कुकुरलाई दार्जीलिङ फेस्ट आयोजक समितिले ‘वीरता सम्मान’ प्रदान गर्ने भएको छ।
उनले दार्जीलिङमा आजदेखि शुरु गरिएको दार्जीलिङ फेस्टले दार्जीलिङको पर्यटनलाई पनि धेरै टेवा पुग्ने आशा व्यक्त गर्दै यसप्रकारको कार्यक्रम बर्सेनि आयोजन गर्ने योजना बनाएको पनि जानकारी गराए।
आज पहिलो दिनको दार्जीलिङ फेस्टमा विविध सांस्कृतिक नृत्य, वेस्टर्न ब्याण्डहरूद्वारा साङ्गीतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो।