जीटीएमा चारैतिर घोटाला भएको छ : जनचेतना सङ्घर्ष समिति

0
1264
बेलगाछी लाइनदेखि कटहरेसम्म निर्माणाधीन सड़क।

दार्जीलिङ, २० सेप्टेम्बर : दार्जीलिङ पहाड़का विभिन्न सामाजिक मुद्दालाई उठाइरहेको गोरामुमो जनचेतना सङ्घर्ष समितिले जीटीएले गरेको अहिलेसम्मका कुनै काम पनि राम्रो नरहेको तथा चारैतिर घोटाला भइरहेको आरोप लगाएको छ।

समितिले यस्तो आरोप तराईको पानीघट्टास्थित बेलगाछी मिया लाइनदेखि कटहरेसम्म प्रधानमन्त्री ग्राम सड़क परियोजनाअन्तर्गत निर्माणाधीन सड़कको दुरवस्थासम्बन्धमा लगाएको हो। शुक्रवार समितिकी अध्यक्ष मञ्जिला तामाङले जानकारी गराएअनुसार हिजो समितिले उक्त सड़कको भ्रमण निरीक्षण गरेको थियो। उक्त भ्रमणअवधि बाटोको निर्माणकार्य लापरबाही ढङ्गमा भइरहेको थाहा पाएको उनको भनाइ छ।

‘हामी अहिले ठाउँ ठाउँमा गएर निरीक्षण गरिरहेका छौं। चारैतिर घोटाला भएको छ। कुनै राम्रो काम भएको छैन’, उनले थपिन्, ‘अहिलेसम्म जीटीएले जुन जुन काम गरिरहेको छ, कुनै पनि काम राम्रो छैन। यसको अर्थ के हो? के जीटीएको ओहोदामा बस्नेहरू आँखा बन्द गरेर हिँड़्छन्? सरकारले आफ्नो ठाउँलाई विकास गर्नका लागि दिएको पैसा सही ठाउँमा प्रयोग भएको छ/छैन, त्यो नहेरेर के उनीहरू आफ्नो सङ्गठन बढ़ाउनका लागि मात्र हिँड़िरहेका छन्?’

तामाङले जीटीएको पदमा बसेकाहरूले निर्माणकार्यको गुणात्मकतालाई पनि हेर्नुपर्ने माग गरेका छन्।  यसका साथै उनले उक्त पीएमजीएसवाई सड़कको निर्माणकार्य सटिक रूपमा नभए कठोर पदक्षेप उठाउने बताइएकी छन्।

बेलगाछी लाइनदेखि कटहरेसम्म बनिँदै गरेको उक्त बाटोको अवस्थाबारे बोल्दै मञ्जिला तामाङले भनिन्, ‘यो सड़क प्रधानमन्त्री ग्राम सड़क परियोजनाअन्तर्गत भए तापनि निर्माणकार्य जीटीएअधीनस्थ भइरहेकोले काम राम्रो भइरहेको छैन। सड़कको निर्माणको लागत खर्च २ करोड़ ९० लाख ७७ हजार ३ सय ६४ रुपियाँको हो। तर, जुन प्रकारले त्यो बाटो बनिँदैछ, त्यसलाई हेर्दा थाहा हुन्छ, जुन लागत खर्चमा त्यो बाटो बनिनु पर्थ्यो। तर, बनिएको छैन।’

उनले बाटो निर्माणकार्य अझै चलिरहेको र आधा बाटो बनिनसकेको पनि बताइन्। यद्यपि आधा बनिएको बाटोको अवस्था ठीक  नरहेको तामाङको भनाइ छ। ‘आधा बनिसकेको बाटोमा केवल रोड़ा मात्र ओछ्याइएको छ। ठाउँ ठाउँमा नाली नै बनिएको छैन। नालीहरू केवल देख्ने स्थानमा मात्र बनाइएको छ’, तामाङले भनिन्, ‘अस्ति बर्खामा त्यो बाटोमा खोलाजस्तै बगेको थियो। बाटोबीचमा स्विमिङ पुलजस्तो पानी जमिएको थियो।’

गोरामुमो जनचेतना सङ्घर्ष समितिकी अध्यक्षको दाबीका अनुसार लागत खर्चअनुसारको बाटो बनिएकै छैन। जसले पनि सड़कको निर्माणकार्यको ठेका पाएका छन्, उसले सड़कको निर्माणकार्य राम्रो गर्नुपर्ने मञ्जिला तामाङले बताइएकी छन्। ‘जीटीएले किन लापरबाही गर्दैछ? जीटीएका पदाधिकारीहरूले किन त्यहाँ गएर निरीक्षण गर्दैनन्?’, उनले प्रश्न गरेकी छन्।

उनले उक्त बाटोमा अलकत्र राम्रोसँग नपेलेको कारण जहीं त्यहीं रोड़ा छरपस्ट रहेको पनि आरोप लगाइएकी छन्। साथै उक्त सड़क भएर विद्यार्थीहरू पन  हिँड़्ने गरेकोले गाड़ीको चक्काले उक्त रोड़ाहरू उछिट्याउन सक्ने र त्यसले विद्यार्थीहरूलाई लागेर कुनै दुर्घटनासमेत हुनसक्ने आशङ्काप्रति सतर्क गराएकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here