कालेबुङ, 21 सेप्टेम्बर : केही दिनअघि मिरिकमा राज्यका पर्यटन मन्त्री एवं तृणमूल नेता गौतम देवले एनआरसीबारे दार्जीलिङ पहाड़का गोर्खाहरू सम्बन्धमा दिएको बयानविरुद्ध विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चाका युवा र नारी एकाइले शनिवार कालेबुङ शहरमा पोस्टरिङ गरेका छन्।
पोस्टरमा भनिएको छ, ‘गौतम देव चिहान खनेर हेर। हाम्रो पुर्खाको हाड़ पाउनेछौं। तिम्रो पुर्खाको चिहान कहाँ छ देखाऊ।’ त्यस्तै अर्को पोस्टरमा भनिएको छ, ‘पिँठ्यूभरि काँड़ेतारको छाप बोकेर बङ्ग्लादेशबाट रातारात हाम्रो भूमिमा घुसपैठ गरेका मन्त्री गौतम देव तिम्रो आफ्नो किपट देखाऊ।’
पोस्टरमार्फत् मन्त्री देवको तीखो विरोध गरेको विमलपन्थी मोर्चा कालेबुङले ‘हाम्रै किपटको छाती टेकेर हामीलाई नै विदेशी भनी औंला उठाउने बङ्गालका मन्त्री गौतम देवको बयानलाई बहिष्कार गर्नुपर्ने’ तथा गौतम देवले गोर्खाहरूलाई कसरी ‘ड्रिभन आउट’ भनेर सम्बोधन गरे, त्यसको उनले जवाफ दिनुपर्ने पनि बताएको छ।
अर्कोतिर, पोस्टरिङबारे बोल्दै नारी मोर्चा नेतृ ननिता गौतमले भनिन्, ‘बङ्गालका पर्यटन मन्त्री भएर गौतम देवले हामीमाथि यस्तो बयान दिन सुहाउँदैन। बारम्बार हामीलाई होँच्याउने र आगो लगाउने काम मन्त्रीले गर्दैछन्। यस्तो बयानको हामी नारी र युवा मोर्चाको तर्फबाट घोर भर्त्सना गर्छौं।’
उनका अनुसार गोर्खाहरू एक नभएसम्म यस्तो लाञ्छना लागिरहन्छ। जब जब हामी लक्ष्यप्राप्तिका लागि अघि बढ़िरहेका हुनेछौं, तब तब लक्ष्यबाट विमुख बनाउनका लागि माइण्ड डाइभर्ट गर्ने काम गरिन्छ’, उनले थपिन्, ‘अहिले पनि त्यस्तै हुँदैछ। तपाईं-हामीले यो कुरा बुझ्नुपर्छ।’ गौतमले घरी घरी गोर्खाहरू एकबद्ध हुनुपर्ने कुरालाई दोहोर्याइरहिन्।
‘हामी एकमुष्ठ भयौं भने यस्तो खाले लाञ्छना घरी घरी लगाउन सक्दैन’, उनले थपिन्, ‘हामी भिन्न-भिन्नै भएर बस्नाले पनि यो प्रकारका लाञ्छनाहरू लागिरहेका छन्।’
उनले एनआरसीको विरोध नरहेको तथा यो लागू हुनुपर्ने कुरामा जोड़ दिइन्। यद्यपि सबैले आफ्नो दस्तावेज तयार गरी राख्नुपर्ने आह्वान गरिन्।
अर्कोतिर युवा मोर्चा संयोजक तोप्देन भोटियाले केही जनता यताउता गरे तापनि सबै जनता विमल गुरुङसँगै रहेको दाबी गरे। यसका उनले छरिएर बसेका समर्थकहरूलाई जाति र जातीय हितका लागि एकजुट बनाउने पनि बताएका छन्।