29 माइलको पैह्रोले राजमार्गमा घरी घरी यातायात बाधित, पैह्रो झर्ने र सफा गर्ने क्रम जारी

0
1466
पैह्रो सफा गर्दै जेसीबी।

कालेबुङ, 21 सेप्टेम्बर : राष्ट्रिय राजमार्ग 10 -मा यात्रा गर्नु जोखिमपूर्ण बनेको छ। कतिबेला यातायात ठप्प हुन्छ, पत्तो नै हुँदैन। शनिवार पनि 29 माइलनजिक गएको पैह्रोले करिब दिनभरि नै यातायात बाधित बन्यो। जसको कारण यात्रुहरूले अत्यधिक समस्या झेल्न पर्‍यो।

विभागीय सूत्रका अनुसार पैह्रो करिब 8 बजे झरेको हो। त्यसपपछि विभागका दुईवटा मशिनले सड़कमा थुप्रिएको पैह्रोलाई सफा गरेपछि करिब 2 बजे एकतर्फी बाटो खोलिएको थियो। यद्यपि बाटो बन्द बनेको कारण वाहनहरूको लामो लश्कर लागेकोले जामको समस्या देखियो। यो समाचार लेखुञ्जेलसम्म पनि पैह्रो झर्ने र सफा गर्ने क्रम चलिरहेको थियो।

जानकारीका अनुसार अपराह्न विभागले पैह्रो सफा गरी वाहनहरूको चलाचल एकतर्फी खुला गरेको केही क्षणमा नै फेरि माथिबाट पैह्रो झऱ्यो, जसको कारण यातायात पुनः करिब तीनघण्टा ठप्प बन्यो।

शुक्रवार परेको पानीले आज बिहान पैह्रो झरेको बताइएको छ। तथापि आज जुन ठाउँमा पैह्रो झरेको छ, त्यो ठाउँमा  पछिल्लो 13 सेप्टेम्बरको दिन पनि पैह्रो झरेर सड़कमा थुप्रिँदा करिब साढ़े चार घण्टा यातायात ठप्प बनेको थियो। केही ठूलो पानी पर्‍यो कि माथि हिलो लेदोको पैह्रोसँगै सड़कमा थुप्रिएर यातायात ठप्प भइहाल्ने गरेको छ।

उल्लेखनीय छ, 29 माइलमा गएको पैह्रोको कारण यातायात ठप्प बनेका केही वाहन टिस्टाबाट जोरबङ्ग्लो हुँदै खरसाङ भएर सिलगढ़ी झरेका थिए। यो समाचार तयार पारुञ्जेलसम्म रोकिँदै पैह्रो झर्ने क्रम जारी रहेको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here